कुलिङ पिरियड छानबिन समितिले प्रतिवेदन आज प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्ने तयारी गर्दै

 काठमाडौं ।

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन समितिको बैठक आज बिहान ७ बजे देखि जारी छ ।

हिजो राति १२ बजेसम्म पनि बैठक र छलफल चलेकाे थियाे । आज बस्ने प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्ने तयारीमा रहेका समितिका सदस्यहरू आज बिहान ७ बजेदेखि नै छलफलमा छन् । समितिका सदस्यहरूका अनुसार हिजो नै समितिको म्याद सकिएको भए तापनि हिजोको बैठकको निरन्तरतामा आज बिहान बैठक बसेको हो ।

आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । सोही बैठकमा समितिले प्रतिवेदन पेश गर्ने तयारी छ । त्यसैले प्रतिवेदनलाई अन्तिम रुप दिने काम भइरहेको समितिका सभापति जीवन परियारले जानकारी दिए । हिजो समितिमा रहेका सत्तापक्षका सांसदहरूले कांग्रेस–एमालेका नेताहरूसँग संवाद गरेका थिए । छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे समेत थिए ।

एमाले संसदीय दलको कार्यालयमा भएको छलफल समितिलाई समय थप आवश्यक रहेरनरहेको विषयमा समेत केन्द्रित थियो । एमालेका मुख्य सचेतक बर्तौलाले समितिको काम के कति भयो भन्ने सन्दर्भमा छलफल भएको र थप समय आवश्यक रहेको भनेर समितिले माग नराखेको बताएका थिए ।

संघीय निजामती सेवा विधेयकमा २ वर्ष कुलिङ पिरियडको प्रावधान राख्ने सहमति भएको थियो । यो सहमति अनुसारको प्रावधान विधेयकमा राखिएको छ । तर, सँगै निश्कृय हुने भाषा समेत प्रयोग भएको भनेर प्रश्न उठेपछि गत २३ असारमा छानबिनका लागि संसदीय समिति बनेको थियो ।

समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो । पछि एक साता थपिएको थियो । थपिएको म्याद हिजो साउन १८ गते नै सकिएको छ ।छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति छन् भने कंग्रेसका सांसद र सुशीला थिङ सदस्य छन् । नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

प्रतिक्रिया