वीरगञ्ज| मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको मुहार फेर्ने लक्ष्यका साथ लामो समयदेखि प्रतीक्षित मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबार बिहानदेखि औपचारिक रूपमा सुरु भएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडकखण्डलाई फराकिलो बनाउने अभियान आज एकाबिहानैदेखि सुरु गरेको हो ।
सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको पावरहाउस, मुर्ली, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु होटल चोक, विर्ता, छपकैया, भन्सार हुँदै मितेरी पुलसम्मको मुख्य सडक २५/२५ मिटर विस्तार गर्ने काम हुने जानकारी दिएको छ ।
विगत १३ वर्षदेखि विभिन्न कानुनी झमेलाका कारण यो आयोजना अलपत्र परेको थियो। २०६९ सालमै विस्तारको योजना अघि सारिए पनि स्थानीय घरधनीहरूको विरोध र अदालतमा दायर मुद्दाहरूका कारण काम अघि बढ्न सकेको थिएन। सडक विस्तार गर्दा आफ्ना संरचना भत्किने भन्दै करिब १ हजार २ सय घरधनीहरूले २०७६ सालमा मुआब्जा र वैकल्पिक मार्गको माग गर्दै रिट दायर गरेका थिए।
त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको गण्डक चोकदेखि नेपाल–भारत सीमाको मितेरी पुलसम्मको मुख्य सडक विस्तार गर्न लागिएको २५/२५ मिटरको क्षेत्रमा सरकारी कार्यालयका २९ वटा भवन तथा व्यक्तिका निजी करिब १,२०० वटा घरहरू रहेको सडक डिभिजन हेटौडाले जनाएको छ ।
सर्वोच्च अदालतले त्रिभुवन राजपथमा पर्ने वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तार सम्बन्धी मुद्दामा २०८१ फागुन २८ मा सरकारको पक्षमा फैसला गरेको झण्डै १३ महिनापछि उक्त फैसला कार्यान्वयनका लागि आइतबारदेखि काम सुरु गर्न लागिएको हो ।बिनासूचना संरचना भत्काउन डोजर परिचालन गरिएको भन्दै स्थानीय आपत्ति जनाएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार