कांग्रेसको आधिकारिकतासम्बन्धी सर्वोच्चको फैसला आज हुने, रिटमाथि बहस गर्न पुगेका शर्माले बहस गर्न पाएनन्

    काठमाडौँ ।नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी फैसला आज हुने भएको छ।  कांग्रेसको आधिकारिकतासम्बन्धी रिटमा आफैँ बहस गर्न पुगेका उपसभापति विश्वप्रकाश शर्माले बहस गर्न पाएनन् ।

सर्वोच्च अदालतमा बिहीबारदेखि भइरहेको सुनुवाइमा बहस गर्न पुगेका शर्मालाई बहस गर्न नदिइएको हो । 

न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा रिट निवेदक पक्ष र विपक्षका वकिलहरूले बहस गरिसकेका छन् । विपक्षका तर्फबाट आफै बहस गर्न पुगेका उपसभापति शर्माले समय अभावका कारण बहस गर्न नपाएका हुन् । अहिले रिट निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको र आजै फैसला सुनाउने तयारी इजलासले गरेको छ । 
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनले १४ औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको विषयलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको थियो । 
आयोगको त्यो निर्णयविरुद्ध देउवासहित उनको कार्यसमितिका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालतमा आधिकारिकता माग्दै रिट लिएर पुगेका थिए । त्यही रिटमा अहिले सुनुवाइ भइरहेको हो ।

प्रतिक्रिया