काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलमा नेतृत्व परिवर्तनसँगै पुस्तान्तरणको बहस फेरि एकपटक सतहमा आएको छ। पार्टीले युवा नेता मनिष कोइरालालाई तरुण दलको केन्द्रीय अध्यक्षको जिम्मेवारी दिएपछि संगठनभित्र नयाँ ऊर्जा र पुनर्संरचनाको अपेक्षा बढेको हो।
पूर्व अध्यक्ष बिद्वान गुरुङले अध्यक्ष बाट राजीनामा दिएपछि कांग्रेस नेतृत्वले कोइरालामाथि विश्वास व्यक्त गर्दै संगठनको कमान सुम्पिएको हो। काठमाडौं क्षेत्र नं. २ बाट सक्रिय राजनीति गर्दै आएका कोइराला पछिल्लो समय कांग्रेसभित्र उदाउँदा युवा नेताका रूपमा स्थापित हुँदै आएका छन्। उनी महामन्त्री गगन थापा निकट मानिन्छन्।
तरुण दलभित्र भने कोइराला पूर्ण रूपमा नयाँ अनुहार होइनन्। उनी यसअघि महेन्द्र यादव नेतृत्वको कार्यसमितिमा केन्द्रीय सदस्यका रूपमा सक्रिय थिए। विदेश विभागमा बसेर संगठन विस्तार र समन्वयको जिम्मेवारीसमेत सम्हालेका उनले लामो समयदेखि विद्यार्थी राजनीति र पार्टी संरचनामा काम गर्दै आएका छन्।
पार्टी स्रोतका अनुसार अब कोइरालाको नेतृत्वमा सानो आकारको तदर्थ समिति गठन गर्ने तयारी भइरहेको छ। उक्त समितिको मुख्य उद्देश्य छिट्टै महाधिवेशन सम्पन्न गर्नु रहने बताइएको छ। विशेष गरी तदर्थ समितिमा रहने पदाधिकारी तथा सदस्यहरूलाई आगामी महाधिवेशनमा उम्मेदवार बन्न नदिने गरी मापदण्ड बनाउने तयारीले संगठनलाई निष्पक्ष ढंगले अधिवेशनतर्फ लैजाने संकेत दिएको नेताहरू बताउँछन्।
कांग्रेस वृत्तमा कोइरालाको नियुक्तिलाई केवल नेतृत्व परिवर्तनका रूपमा मात्र नभई युवापुस्तालाई पुनः संगठनमा आकर्षित गर्ने रणनीतिक कदमका रूपमा समेत हेरिएको छ। लामो समयदेखि निष्क्रियजस्तै बनेको तरुण दललाई चलायमान बनाउन सक्ने अपेक्षा उनीमाथि गरिएको छ।
अध्यक्ष नियुक्तिपछि कोइरालाले संगठनलाई देशभरका युवाहरूको भरोसाको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने,“यो कांग्रेसी युवाहरूको संगठन हो। यसलाई देशैभरका युवाहरूको आशा र भरोसाको आकर्षक संगठन बनाउने काम गर्छु।”
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार