बजेट अपुग भएपछि दिप्रुङ चुइचुम्माले निजी क्षेत्रसँग हातेमालो, सडक मर्मतमा काठ व्यवसायीको साथ

पालिकाले एक्साभेटर, व्यवसायीले ट्र्याक्टर उपलब्ध गराउने; साउन १५ गतेदेखि वर्षाले बिगारेका सडक मर्मत हुने

खोटाङ। वर्षायामले क्षतिग्रस्त बनाएका ग्रामीण सडक मर्मतका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिकाले निजी क्षेत्रसँग सहकार्यको नयाँ अभ्यास थालेको छ। सीमित बजेटका कारण एक्लै सडक मर्मत गर्न कठिन भएपछि गाउँपालिकाले पालिकाभित्रका काठ व्यवसायीसँग सहकार्य गर्ने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष लोकेन्द्र राईका अनुसार निरन्तरको वर्षा, बाढी र पहिरोले पालिकाभित्रका अधिकांश सडकमा आवागमन नै प्रभावित भएको छ। सर्वसाधारण र स्थानीय व्यवसायी दुवैलाई सहज आवतजावत गराउने उद्देश्यले गाउँपालिकाले व्यवसायीहरूसँग समन्वय गरी संयुक्त रूपमा सडक मर्मत अभियान सञ्चालन गर्न लागेको उनले बताए।

सम्झौताअनुसार प्रत्येक काठ व्यवसायीले एक–एक वटा ट्र्याक्टर उपलब्ध गराउनेछन्। गाउँपालिकाले एक्साभेटरको व्यवस्था गर्नेछ भने ट्र्याक्टर सञ्चालनका लागि आवश्यक इन्धन, श्रमिकको खाना–खाजा तथा व्यवस्थापनको जिम्मेवारी पनि गाउँपालिकाले नै लिनेछ।

सडक मर्मत अभियान साउन १५ गतेदेखि सुरु गर्ने तयारी गरिएको छ। मंगलबार बसेको गाउँपालिका, काठ व्यवसायी र सबै वडाध्यक्षहरूको संयुक्त बैठकले यस अभियानलाई समर्थन गर्दै आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

गाउँपालिकाका अनुसार यो अभियानले वर्षाका कारण अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन, सर्वसाधारणको दैनिक आवागमन सहज बनाउन र स्थानीय आर्थिक गतिविधिलाई समेत गति दिन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया