भ्याट विवादमा प्राधिकरणको 'यू–टर्न': अतिरिक्त उठाएको रकम फिर्ता होइन, अर्को बिलमै समायोजन
१२ साउन २०८३, मङ्गलबार प्रकाशित
काठमाडौं । असार मसान्तसम्मको विद्युत् खपतमा भ्याट नलाग्ने सरकारी स्पष्टोक्तिपछि नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताबाट अतिरिक्त रूपमा उठाएको भ्याट रकम नगद फिर्ता नगरी आगामी भदौ महिनाको विद्युत् बिलमै समायोजन गर्ने निर्णय गरेको छ।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार असारसम्मको विद्युत् खपतमा भ्याट लाग्ने वा नलाग्ने विषयमा देखिएको अन्योलका कारण भ्याटसहित बिल जारी गरिएको थियो। तर आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयबाट असार मसान्तसम्मको खपतमा भ्याट नलाग्ने स्पष्ट निर्देशन आएपछि उपभोक्ताले तिरेको अतिरिक्त रकम अग्रिम भुक्तानीका रूपमा राखी आगामी बिलमा मिलाइने भएको हो।
यसअघि भ्याट जोडिएको बिल पुगेपछि देशभरका उपभोक्ताले गुनासो गरेका थिए। त्यसपछि प्राधिकरणले साउन ८ गते राजस्व विभागसँग औपचारिक स्पष्टिकरण मागेको थियो। विभागले सोमबार सूचना जारी गर्दै असार मसान्तसम्मको विद्युत् उपभोगमा भ्याट नलाग्ने र साउन १ गतेपछि हुने खपतमा भने कानुनअनुसार भ्याट लागू हुने जनाएको थियो।
यससँगै असारसम्मको बिलमा भ्याट तिरिसकेका ग्राहकले छुट्टै रकम फिर्ता लिनुपर्ने झन्झट बेहोर्नु नपर्ने भएको छ। उक्त रकम स्वतः आगामी भदौ महिनाको बिलमा समायोजन हुनेछ।
यद्यपि साउन १ गतेपछि हुने विद्युत् खपतमा भने आर्थिक ऐन, २०८३ अनुसार अन्तिम उपभोक्ताका लागि ५ प्रतिशत र अन्य उपभोक्ताका लागि १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था यथावत् रहने प्राधिकरणले जनाएको छ।