काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकताबाट भागेर गम्भीर त्रुटि र विचलनको बाटोमा हिँडेको बताएका छन्। हिजो काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै माओवादी एकता छाडेर नेकपा बनाएको बताए।
त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै-
प्रचण्डजी भागेर उहाँहरूले अहिले पार्टी त बनाउनु भएको छ, तर त्यो पार्टी जस्तो छैन, त्यो मोर्चा जत्तिको पनि छैन। अहिले त्यो पार्टी हेर्नुभयो भने २५ सय तीन हजार केन्द्रीय सदस्य छन्। यो कम्युनिस्ट आन्दोलनको हुर्मत लिने कुरा हो। यो बेइज्जत, बदनाम गर्ने कुरा हो । यो कहिल्यै सम्भव हुने कुरा हो त्यो ? धेरै मान्छे भएर कम्युनिस्ट पार्टी ठिक हुने हो ? धेरै मान्छे थुपारेर, लोभलालच देखाएर घुइँचो लगाएर जनताहरू मान्ने हुने हो र ?
आफैँले विकास गरेको विचारमा आफै उभिन नसकेपछि, आफैँले निर्माण गरेको इतिहासको रक्षा आफैँले गर्न नसकेपछि बडो एउटा कुरूप चित्र आन्दोलनमा पैदा हुँदो रहेछ। आजको दिनमा कमरेड प्रचण्ड माओवादीको गह्रुङ्गो, एउटा वजनदार जिम्मेवारी थेग्न नसकेर लत्रिँदै, चिप्लिँदै, भाँचिँदै धेरै पर पुग्नुभएको छ। तपाईँ फर्किनुस्।
माओवादी होसमा छौ भने तिमीले जनताको घरमा खाना खाएको तिमीहरूलाई याद छ आफ्ना सहयोद्धालाई दफ्नाएर हिँडेको तिमीसँग अलिकति पनि भावना छ भने, नेपाली श्रमिक जनताको दायित्व बोध गर्ने अलिकति मात्रै चिन्ता र क्षमता छ भने फर्किएर होसमा आऊ। तिमीले चाहेर माओवाद त्यागिँदैन, माओवाद तिमीहरूले फालेर माओवाद फालिँदैन। तिमीहरूले तपाईँको क्रान्तिकारी आन्दोलनबाट भागेर क्रान्तिकारी आन्दोलन सिद्धिँदैन।
क्रान्तिकारीहरूको बीचमा उपेक्षा गरेर अर्को बाटो समातेर क्रान्तिकारीहरूको बीचको एकता अन्त्य हुँदैन। एकताबाट भागेका प्रचण्डजीहरु गम्भीर त्रुटि र विचलनको बाटोमा हुनुहुन्छ। माओवादी आन्दोलन, विचारलाई छोडेर, माओवादी अनुशासनलाई भत्काएर, कम्युनिस्ट मूल्य–मान्यतालाई त्यागेर, अनि एउटा केवल एउटा सिट चुनावमा जित्नको लागि, एउटा सासद जित्नको लागि विरोधीहरूसँग, वर्ग वैरीहरूसँग, विजातीय तत्त्वसँग गठजोड गरेर आन्दोलनको संरक्षण हुँदैन। त्यसैले त्यो भयङ्कर ठुलो विचलन हो।
तपाईँ एकताको अपिल पनि बेलाबेला गर्नुहुन्छ म त भन्छु एकताको अपिल विचलनकारीहरूले गरेको सुहाउँदैन। आफ्नो मूल्य–मान्यताबाट भागेकोले गर्न सुहाउँदैन। एकताको अपिल कसले गर्नुपर्छ ? एकताको अपिल जनतासँग सम्पूर्ण रूपले जोडिएको शक्तिले गर्नुपर्छ। कसले गर्नुपर्छ ? अनुशासनमा बसेको पार्टी, नेता–कार्यकर्ताले गर्नुपर्छ। एकताहरूले कुरा बुझिएन भने, नेता र कार्यकर्ताले राम्रोसँग बुझ्नुपर्छ। संसारको कम्युनिस्ट आन्दोलनले दिएको शिक्षा कथित एकता होइन।
विचार बिनाको एकता, भावना बिनाको एकता, उद्देश्य र लक्ष्य बिनाको एकता, अनुशासन र प्रतिबद्धता बिनाको एकताले कम्युनिस्ट आन्दोलन विसर्जन गरेको इतिहास छ। कुनै–कुनै एकताले विसर्जन गर्छ, कुनै–कुनै एकताले सुदृढ गर्छ। हामीलाई सुदृढ गर्ने एकता चाहिएको हो। हामीलाई नेपालमा माओवादी आन्दोलनलाई विसर्जन गर्ने एकता हामीलाई चाहिएको होइन।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार