सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि निगरानी तीव्र, धनुषाबाट मात्रै १९ जना पक्राउ
१५ साउन २०८३, शुक्रबार प्रकाशित
काठमाडौं – सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सुरक्षा सतर्कता बढाएको नेपाल प्रहरीले मधेश प्रदेशका पाँच जिल्लाबाट सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा ३६ जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा सबैभन्दा बढी धनुषाका १९ जना रहेका छन्। त्यसपछि सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना र पर्साबाट १ जना पक्राउ परेका छन्।
प्रहरीले पछिल्ला दिनमा सामाजिक तथा धार्मिक सद्भावमा असर पर्ने गतिविधि, उत्तेजक अभिव्यक्ति, अफवाह फैलाउने कार्य तथा सामाजिक सञ्जालमार्फत भड्काउ सामग्री प्रसारण गर्ने व्यक्तिहरूमाथि निगरानी बढाएको जनाएको छ।
सुनसरी घटनापछि सम्भावित संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनले संयुक्त रूपमा गस्ती, निगरानी तथा सूचना संकलनलाई तीव्र बनाएका छन्।
प्रहरीले कानुनविपरीत सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि गतिविधिमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान र आवश्यक कानुनी कारबाही जारी रहने जनाएको छ। साथै, सर्वसाधारणलाई अपुष्ट सूचना, भ्रामक सामग्री वा साम्प्रदायिक भावना भड्काउने सामग्री सामाजिक सञ्जालमा साझेदारी नगर्न आग्रह गरेको छ।