सगरमाथादेखि के–टुसम्म कीर्तिमान बनाएका युक्तको यात्रा ब्रोड पिकमै टुंगियो

काठमाडौं – नेपाली पर्वतारोहण क्षेत्रका अनुभवी आरोही पुरबहादुर गुरुङ ‘युक्त’ को पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ। हिमालमा कीर्तिमानी यात्रा बनाएका युक्तको जीवन अन्ततः उनैले प्रेम गरेको हिमालमै टुंगिएको छ।

अल्पाइन क्लब अफ पाकिस्तानले ब्रोड पिक क्षेत्रमा फेला परेका चार शवमध्ये नेपाली आरोही पुरबहादुर गुरुङ र ओमानी आरोही नधिरा अल हारथीको पहिचान भएको जनाएको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले पनि युक्तको हिमपहिरोमा परी मृत्यु भएको पुष्टि गरेको छ।

गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा जन्मिएका युक्तले सन् २००९ मा पोर्टरबाट पर्वतारोहण यात्रा सुरु गरेका थिए। त्यसपछि उनी किचन हेल्पर, ट्रेकिङ गाइड हुँदै अन्तर्राष्ट्रिय पर्वत मार्गदर्शक (International Mountain Guide) बन्न सफल भएका थिए।

उनले हालसम्म १० पटक सगरमाथा आरोहण गरेका थिए भने विश्वका १४ वटा आठ हजारे हिमालमध्ये १२ वटा सफलतापूर्वक चढिसकेका थिए। पाकिस्तानको के–टु हिमाल २४ घण्टाभित्र आरोहण गरेर उनले विशेष कीर्तिमानसमेत बनाएका थिए।

आरोहण मात्र होइन, हिमालमा समस्यामा परेका आरोहीहरूको उद्धारमा पनि उनी अग्रपंक्तिमा रहने पर्वतारोहीका रूपमा परिचित थिए। यही कारण नेपाली पर्वतारोहण क्षेत्रमा उनलाई दक्ष, साहसी र समर्पित गाइडका रूपमा सम्मान गरिन्थ्यो।

करिब तीन साताअघि ब्रोड पिक आरोहणका लागि पाकिस्तान पुगेका युक्त यसपटक भने शिखरभन्दा ठूलो मूल्य चुकाउन बाध्य भए। नेपालको पर्वतारोहण इतिहासमा उल्लेखनीय योगदान दिएका एक अनुभवी आरोहीको असामयिक निधनले पर्वतारोहण क्षेत्र शोकमा डुबेको छ।

प्रतिक्रिया