सुनसरी – देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको हिंसात्मक झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव शुक्रबार साँझ घर ल्याइएपछि गाउँ शोकमा डुबेको छ।
विराटनगरस्थित कोशी अस्पतालबाट शव बुझाएर घर ल्याइएपछि स्थानीयवासी, आफन्त र शुभेच्छुकहरू अन्तिम श्रद्धाञ्जलि दिन मृतकको निवास पुगेका छन्। गाउँभर शोकको वातावरण छ भने धार्मिक परम्पराअनुसार अन्त्येष्टिको तयारी भइरहेको परिवारले जनाएको छ।
गोली लागेर ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार निधन भएको थियो।
शव बुझाउने प्रक्रिया सरकार र मृतक परिवारबीच भएको सहमतिपछि मात्र अघि बढेको हो। बिहीबार राति गृहमन्त्री सुदन गुरुङ को उपस्थितिमा भएको वार्तामा विभिन्न विषयमा सहमति जुटेपछि परिवारले शुक्रबार साँझ दुवै शव जिम्मा लिएको हो।
शव घर पुगेसँगै स्थानीयले उनीहरूको सम्झनामा श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्। घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था यथावत् राखिएको छ भने शान्ति र सद्भाव कायम राख्न प्रशासनले सबै पक्षसँग संयमता अपनाउन आग्रह गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार