सडकमार्ग हुँदै मुस्ताङ निस्किएका प्रधानमन्त्री शाह पोखरा पुगे, धादिङमा केहीबेर रोकिए

काठमाडौं, प्रधानमन्त्री बालेन्द्र साह सडकमार्ग हुँदै मुस्ताङ यात्रामा निस्किएका छन्। काठमाडौंबाट बिहान गाडीमा निस्किएका प्रधानमन्त्री शाह शुक्रबार दिउँसो पोखरा पुगेका हुन्।

प्रधानमन्त्रीसहितको टोली पृथ्वी राजमार्ग हुँदै पोखरातर्फ गएको थियो। धादिङ प्रहरीका अनुसार टोली केहीबेर धादिङ खण्डमा रोकिएको थियो। यद्यपि, प्रधानमन्त्रीको गन्तव्यबारे आफूहरूलाई विस्तृत जानकारी नभएको जिल्ला प्रहरी कार्यालय धादिङका एक अधिकृतले बताए।

“प्रधानमन्त्रीसहितको टोली केहीबेर धादिङ खण्डमा रोकिएको थियो। तर उहाँहरू कहाँ जाँदै हुनुहुन्छ भन्नेबारे थप जानकारी छैन,” ती प्रहरी अधिकृतले भने।

पोखरा पुगेपछि प्रधानमन्त्री शाह आज माछापुच्छ्रे गाउँपालिका–६ स्थित इको भिलेज रिसोर्टमा बास बस्ने कार्यक्रम रहेको बताइएको छ। त्यहाँबाट हेलिकप्टरमार्फत मुस्ताङ जाने तयारी छ।

प्रधानमन्त्रीको यात्रा काठमाडौं–पोखरा सडकमार्ग र त्यसपछि हेलिकप्टरमार्फत मुस्ताङ पुग्ने गरी तय गरिएको देखिएको छ। पोखरामा एक रात बसेपछि उनी मुस्ताङतर्फ जाने कार्यक्रम रहेको बताइएको छ।

यसैबीच, प्रधानमन्त्री शाहको पोखरा प्रस्थानसँगै शुक्रबार बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो केन्द्रीय समिति बैठकमा उनको अनुपस्थिति रहने भएको छ। पार्टीको बैठककै दिन उनी बिहान काठमाडौंबाट पोखरातर्फ लागेका हुन्।

प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको उद्देश्य, त्यहाँ हुने भेटघाट तथा अन्य कार्यक्रमबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया