शिक्षामन्त्रीको कार्यक्रममा विवाद-मलाई बोल्न किन बोलाइएन भन्दै सभापति महतोले उठाए प्रश्न

सिरहा । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि सुझाव संकलन गर्न सिरहाको औरहीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेशकुमार महतोले आफूलाई बोल्न समय नदिएको भन्दै प्रश्न उठाएपछि विवाद भएको छ।

शनिबार पाठ्यक्रम विकास केन्द्रको आयोजनामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, अभिभावक र विद्यार्थीले पाठ्यक्रम परिमार्जनबारे आ–आफ्ना सुझाव राखेका थिए। त्यसपछि औरही नगरपालिका मेयर शिवजी यादवले सम्बोधन गरेका थिए।

कार्यक्रमको तालिकामा मेयर यादवपछि सभापति महतोले बोल्ने कार्यक्रम रहेको थियो। तर महतोलाई बोल्न समय नदिई शिक्षामन्त्री सस्मित पोखरेललाई सम्बोधनका लागि आग्रह गरिएपछि उनले आपत्ति जनाएका थिए।

‘मलाई बोल्न किन बोलाइएन?’ भन्दै महतोले प्रश्न उठाएपछि कार्यक्रममा होहल्ला भएको बताइएको छ।

सभापति महतोले मन्त्री पोखरेल कार्यक्रमस्थलमा ढिलो आएका कारण निर्धारित कार्यक्रमको तालिका प्रभावित भएको र वक्ताहरूलाई बोल्न नदिई मन्त्री आफैं सम्बोधन गर्न थालेपछि विवाद भएको दाबी गरेका छन्।

‘तीन घण्टा अगाडि नै कार्यक्रमको सेडुल बनेको थियो। मन्त्रीज्यू ढिलो आउनुभयो। वक्ताहरूलाई बोल्न नदिएर आफैं बोल्न थालेपछि विवाद भएको हो,’ महतोले भने।

विवादपछि मन्त्री पोखरेलले सम्बोधन गर्दागर्दै कार्यक्रमबाट बाहिरिएको महतोको भनाइ छ।

यता रास्वपाका सांसद शिव यादवले भने घटनालाई सामान्य विवादका रूपमा व्याख्या गरेका छन्। उनले मन्त्रीले छोटो सम्बोधन गरेर कार्यक्रमबाट निस्किएको भन्दै ‘मन्त्री लखेटिएको’ भन्ने प्रचार गलत भएको बताए।

‘मन्त्रीज्यूले छोटो सम्बोधन गर्नुभयो। सामान्य विवाद भएपछि उहाँ सम्बोधन छोट्याएर निस्किनुभएको हो। लखेटिएको होइन,’ उनले भने।

मधेशका विभिन्न जिल्लामा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि सुझाव संकलन गरिरहेका शिक्षामन्त्री पोखरेल शनिबार औरही नगरपालिकाको कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा रास्वपाका सांसद पुरुषोत्तम यादव पनि सहभागी थिए।

प्रतिक्रिया