काठमाडौं । चीन र भारतबीच पछिल्लो समय देखिएको सम्बन्ध सुधारलाई थप अघि बढाउने संकेतसहित चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार साँझ भेटवार्ता भएको छ।
ब्रिक्स सम्मेलनका लागि नयाँदिल्ली पुगेका राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच भएको भेटवार्तामा दुई देशको सम्बन्धलाई तत्कालीन मतभेदभन्दा माथि उठाएर दीर्घकालीन र रणनीतिक दृष्टिकोणबाट अघि बढाउने विषयमा जोड दिइएको छ।
भारतीय विदेश मन्त्रालयका अनुसार दुई नेताले अगस्ट २०२५ मा चीनको तियानजिनमा भएको भेटपछि भारत–चीन सम्बन्धमा भइरहेको प्रगतिबारे समीक्षा गरेका थिए। उनीहरूले दुई देशबीचका मतभेदलाई विवादमा परिणत हुन नदिने साझा धारणा पनि व्यक्त गरेका छन्।
मोदीले भारत–चीन सम्बन्ध पारस्परिक सम्मान, पारस्परिक संवेदनशीलता र पारस्परिक हितका आधारमा अघि बढ्नुपर्ने बताएका छन्। उनले सीमावर्ती क्षेत्रमा शान्ति र स्थिरता कायम राख्नु दुई देशबीचको सम्बन्ध सुधारका लागि महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।
सीमा सम्बन्धी विषयमा यसअघि भएका सम्झौता र समझदारीको पालना दुवै पक्षबाट हुनुपर्नेमा पनि मोदीले जोड दिएका छन्। साथै, दुवै नेताले सीमा विवादको न्यायोचित, तर्कसंगत र दुवै पक्षलाई स्वीकार्य समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चिनियाँ राष्ट्रपति सीले पनि भारतसँगको सम्बन्धलाई चीनले रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्ने बताएका छन्। दुई देशले दीर्घकालीन हितलाई ध्यानमा राखेर सम्बन्ध अघि बढाउनुपर्ने उनको भनाइ थियो।
भेटवार्तामा दुई देशबीचको सम्बन्धसँगै ब्रिक्स सहकार्यलाई थप बलियो बनाउने विषयसमेत उठेको थियो। सीले ब्रिक्स सदस्य राष्ट्रहरूबीचको सहकार्य सुदृढ बनाउन चीन र भारतले मिलेर काम गर्नुपर्ने बताएका छन्।
उनले चीन र भारतले एकअर्काका सबल पक्षबाट सिक्दै आफ्ना क्षमताको सदुपयोग गरेर साझा विकास हासिल गर्न सक्ने धारणा पनि राखेका छन्।
यसरी सी–मोदी भेटवार्तामा सीमा विवाद समाधानसँगै दुई देशबीचको सम्बन्धलाई स्थिर, दीर्घकालीन र सहकार्यमा आधारित बनाउने विषयले प्राथमिकता पाएको देखिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार