राष्ट्रिय भेलाका लागि संस्थापनइतर पक्षको तयारी तीव्र, व्यवस्थापनमा जुट्यो समिति

    काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समिति संयोजक डा. शशांक कोइरालाको संयोजकत्वमा संस्थापनइतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । आगामी साउन २९, ३० र ३१ गते काठमाडौंको धुम्बाराहीस्थित मिराकल पार्टी भेन्युमा हुने भेलालाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरूले आफ्नो जिम्मेवारीअनुसार काम अघि बढाएका छन् ।

भेलाको व्यवस्थापनका लागि गठित मञ्च तथा हल व्यवस्थापन समितिको बैठक मंगलबार चण्डोलस्थित सम्पर्क कार्यालयमा बसेको छ । बैठकमा वाग्मती प्रदेशका महामन्त्री तथा समितिका संयोजक राजु श्रेष्ठले समितिका सदस्यहरूलाई मनोनयनपत्र हस्तान्तरण गरेका छन् ।

राष्ट्रिय भेला आयोजक समिति संयोजक डा. शशांक कोइरालाको उपस्थितिमा भएको बैठकले भेलाको तयारीलाई थप तीव्रता दिने निर्णय गरेको समितिका संयोजक श्रेष्ठले जानकारी दिए । उनका अनुसार भेलालाई भव्य र व्यवस्थित बनाउन समितिका सदस्यहरूलाई बुधबारदेखि नै सक्रिय रूपमा काममा खटाइनेछ ।

भेलास्थलको व्यवस्थापन, मञ्च निर्माण, प्रतिनिधि तथा अतिथिको सहज सहभागिता र कार्यक्रम सञ्चालनलाई व्यवस्थित बनाउने विषयलाई समितिले प्राथमिकतामा राखेको छ । भेलाको तयारीका क्रममा आवश्यक समन्वय र व्यवस्थापनका कामलाई एकसाथ अघि बढाइने श्रेष्ठले बताए ।

कोइरालाको संयोजकत्वमा रहेको राष्ट्रिय भेला आयोजक समितिले भेलाका लागि १७ भन्दा बढी उपसमिति गठन गरिसकेको छ । विभिन्न उपसमितिमार्फत प्रतिनिधि व्यवस्थापन, प्रचारप्रसार, मञ्च तथा हल व्यवस्थापनलगायतका काम अघि बढाइँदैछ ।

आयोजक समितिले जारी गरेको पत्रमार्फत प्रदेश तथा जिल्लाबाट क्षेत्रीय सभापतिसहित महाधिवेशन प्रतिनिधि, पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वमन्त्री तथा सांसद, प्रदेशसभा क्षेत्रीय सभापति तथा महानगर, नगर र गाउँपालिकाका कार्यसमिति सभापतिलाई राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेको छ ।

वर्तमान राजनीतिक अवस्था, लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र पार्टीभित्र देखिएको विवादलाई मध्यनजर गर्दै संस्थापनइतर समूहले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो । भेलाबाट पार्टीको आगामी कार्यदिशा र संगठनलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्ने तयारी गरिएको छ ।

राष्ट्रिय भेला नजिकिँदै जाँदा आयोजक पक्षले विभिन्न उपसमितिलाई सक्रिय बनाएको छ । मञ्च तथा हल व्यवस्थापन समितिको पछिल्लो बैठकले भने अब तयारीलाई कागजी प्रक्रियाबाट व्यवहारिक व्यवस्थापनतर्फ लैजाने संकेत गरेको छ

प्रतिक्रिया