काठमाडौं, इजरायलले नेपाली कामदारका लागि ठूलो रोजगारीको अवसर खुलाएको छ। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न एक हजार ४६४ जना सहायक कामदार माग गरिएको हो।
वैदेशिक रोजगार विभागले मंगलबार भदौ २३ गते सूचना जारी गर्दै जीटूजी प्रक्रियाबाट कामदार छनोट गरी इजरायल पठाउने जनाएको छ। माग गरिएकामध्ये एक हजार १३२ जना महिला र ३३२ जना पुरुष छन्।
छनोट हुने कामदारले मासिक ६ हजार ४४३.८५ एनआईएस अर्थात् करिब ३ लाख २३ हजार रुपैयाँ तलब पाउनेछन्। अतिरिक्त समयबाहेक प्रतिहप्ता ४२ घण्टा काम गर्नुपर्नेछ।
इजरायल पुगेपछि खानाको खर्च भने कामदार आफैँले व्यहोर्नुपर्नेछ। आवासको व्यवस्था रोजगारदाताले विदेशी कामदारसम्बन्धी नियमअनुसार गर्ने भए पनि त्यसको खर्च कामदारकै हुने विभागले जनाएको छ। करार अवधि थप भएमा अधिकतम पाँच वर्षसम्म काम गर्न सकिनेछ।
आवेदनका लागि २५ वर्ष उमेर पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुकले विभागको वेब पोर्टलमार्फत असोज २६ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन्।
आवेदकको उचाइ कम्तीमा १.५ मिटर र तौल ४५ किलोग्राम हुनुपर्नेछ। कम्तीमा कक्षा १० उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेका वा कक्षा १२ उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको केयर गिभिङ तालिम लिएका व्यक्तिले आवेदन दिन सक्नेछन्।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका विभिन्न उमेर समूहका व्यक्तिको हेरचाहका लागि यी कामदार छनोट गरिने विभागले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार