‘थोपा–थोपा गरेर समुद्र बनाऔँ’ भन्दै राप्रपा खोटाङले बाढीपीडितका लागि जुटायो सहयोग

खोटाङ । रसुवामा बाढीले ठूलो क्षति पुर्‍याएपछि राहत तथा पुनर्स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङले आर्थिक सहयोग गरेको छ ।

राप्रपा खोटाङका जिल्ला अध्यक्ष ललित कुमार राईको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ताबाट संकलित २८ हजार १ सय रुपैयाँ बाढी प्रभावितका लागि हस्तान्तरण गरिएको हो ।

संकलित रकम जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई हस्तान्तरण गरिएको राप्रपा खोटाङले जनाएको छ ।

रकम हस्तान्तरणपछि अध्यक्ष राईले विपत्तिको समयमा सहयोगको आकारभन्दा सहयोग गर्ने भावना महत्वपूर्ण हुने बताए । उनले आफूहरूले ठूलो रकम दिन नसके पनि तत्कालको संकटमा आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ भन्ने उद्देश्यले रकम संकलन गरिएको बताए ।

“यो सानो रकम हो, तर यतिबेला सबैले थोपा–थोपा गरेर समुद्र बनाउनुपर्छ,” अध्यक्ष राईले भने, “हामीले गरेको सहयोगलाई रकमको परिमाणभन्दा पनि खोटाङका नागरिक र राप्रपाका साथीहरूको मानवीय भावनाको प्रतिबिम्बका रूपमा बुझ्नुपर्छ।”

रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि राज्यसँगै राजनीतिक दल, संघसंस्था र नागरिक तहबाट समेत सहयोग आवश्यक रहेको राईले बताए ।

उनका अनुसार विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु राजनीतिक सीमाभन्दा माथिको मानवीय दायित्व भएकाले राप्रपा खोटाङले आफ्नो क्षमताअनुसार सहयोग अभियानमा सहभागिता जनाएको हो।

प्रतिक्रिया