काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि ‘निस्सा’ दिएपछि पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो पक्षको आधाभन्दा बढी जित भइसकेको दाबी गरेका छन्।
भक्तपुरमा आयोजित कार्यक्रममा देउवाले निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई दबाबमा मान्यता दिएपछि आफूहरू सर्वोच्च पुगेको बताए। पुनरावलोकनमा ‘निस्सा’ मिल्नु नै ठूलो उपलब्धि भएको उनको भनाइ छ।
‘पुनरावलोकनमा गयौँ। निस्सा दियो हामीलाई। निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो,’ देउवाले भने।
उनले पार्टीको आधिकारिकता आफूहरूबाट खोस्न अहिले पनि षड्यन्त्र भइरहेको आरोप लगाए। तर अदालतबाट न्याय पाउने दाबी गर्दै रुख चिह्न र चारतारे झन्डामाथिको आधिकारिकता आफूहरूले नै पाउने बताए।
देउवाले सभापति गगन थापाले बोलाएको विशेष महाधिवेशनको वैधानिकतामाथि समेत प्रश्न उठाए। आफूलाई जानकारी नै नदिई विशेष महाधिवेशन बोलाइएको भन्दै उनले गगनसँग त्यस्तो अधिवेशन बोलाउने अधिकार नभएको जिकिर गरे।
‘अहिले पार्टी सभापति म छु, मलाई थाहै छैन। बोलाइदिने? खल्तीबाट बोलाएर हुन्छ?’ देउवाले प्रश्न गरे।
पार्टीको आधिकारिकता र विशेष महाधिवेशनसम्बन्धी विवाद अब सर्वोच्च अदालतको निर्णयसँग जोडिएको छ। ‘निस्सा’ पाएपछि देउवा पक्ष उत्साहित देखिएको छ भने कांग्रेसको नेतृत्व र आधिकारिकताको टुंगो अदालतको अन्तिम निर्णयले लगाउनेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार