काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक विवाद जिल्ला तहसम्मै देखिन थालेको छ। नवलपरासीमा आइतबार केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सहभागी अगुवा कार्यकर्ता भेलामा पूर्व लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट जसपामा समाहित भएका नेता–कार्यकर्ताले असन्तुष्टि जनाउँदै कार्यक्रम बहिष्कार गरेका छन्।
जसपा नवलपरासीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले सम्बोधन गरेपछि जिल्ला अध्यक्ष मुकुर गिरीले उनको मन्तव्यप्रति असन्तुष्टि जनाउँदै प्रतिवाद गरेका थिए। गिरीले लुम्बिनी प्रदेशप्रति पार्टी नेतृत्वले विभेद गरेको लगायतका विषय उठाएपछि अध्यक्ष यादवले उनलाई बीचमै रोक्न खोजेको र त्यसपछि आफूहरूले कार्यक्रम बहिष्कार गरेर हिँडेको गिरीको दाबी छ।
गिरीका अनुसार पार्टीको हालै गठन गरिएको २७९ सदस्यीय केन्द्रीय समितिमा मधेश प्रदेशका आठ जिल्लाबाट २११ भन्दा बढीलाई समेटिए पनि १२ जिल्ला रहेको लुम्बिनी प्रदेशबाट १८ जनालाई मात्र राखिएको छ। उनले यसलाई लुम्बिनी प्रदेशप्रतिको नेतृत्वको विभेदपूर्ण व्यवहारका रूपमा व्याख्या गरेका छन्।
त्यस्तै, लुम्बिनी प्रदेशमा पार्टीको प्रदेश कमिटी र संसदीय दल हुँदाहुँदै प्रदेशका चार सांसदलाई प्रदेश नेतृत्वसँग समन्वय नगरी केन्द्रबाट कारबाही गरिएको विषयमा पनि उनले आपत्ति जनाएका थिए।
जसपाले पार्टीको नीतिविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको आरोपमा शुक्रबार सांसदहरू सन्तोषकुमार पाण्डे, हेमा बेल्वासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई पार्टीबाट निष्कासन गरेको थियो। यही निर्णयपछि लुम्बिनी प्रदेशमा पूर्व लोसपा पृष्ठभूमिका नेता–कार्यकर्तामा असन्तुष्टि थप चुलिएको गिरीको भनाइ छ।
गिरीले अध्यक्ष यादवले लुम्बिनी प्रदेशलाई उपेक्षित व्यवहार गर्दै आएको आरोप लगाएका छन्। उनका अनुसार कार्यक्रममा तत्कालीन लोसपाबाट जसपामा समाहित भएका ३०–४० जना नेता–कार्यकर्ता सहभागी थिए र विवादपछि उनीहरूले सामूहिक रूपमा कार्यक्रम बहिष्कार गरेका हुन्।
गिरीले आफूले मधेश आन्दोलनलगायतका राजनीतिक आन्दोलनमा योगदान दिएका नेता–कार्यकर्ताको भूमिकालाई बेवास्ता गर्ने गरी अभिव्यक्ति दिन नहुने भन्दै अध्यक्ष यादवको आलोचना गरेको बताए। त्यस क्रममा अध्यक्ष यादवले आफूलाई ‘जथाभावी नबोल्न’ चेतावनी दिएको उनको भनाइ छ।
तर, यादव निकट साविक जसपा नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले भने घटनालाई विवाद वा बहिष्कारका रूपमा व्याख्या गर्न नहुने बताएका छन्। उनका अनुसार कार्यक्रम समापनका क्रममा गिरीले अन्य पार्टीको पक्षमा धारणा राखेपछि अध्यक्ष यादवले जसपामा रहेर पार्टीको नीति र नियमअनुसार अघि बढ्न सम्झाएका मात्र हुन्।
‘त्यो धेरै ठूलो कुरा थिएन। गिरीजीले समापनका समयमा अरू पार्टीको पक्षमा बोल्नुभएको थियो। उपेन्द्रजीले जसपा नेपालमा बसेपछि अरू पार्टीको पक्षमा कुरा नगर्न र पार्टीको नीति र नियममा रहन सम्झाउनुभएको हो,’ धरेन्द्र यादवले भने।
जसपा नेपालमा पूर्व जसपा र लोसपाका नेता–कार्यकर्ता समाहित भएपछि नवलपरासीमा दुवै पक्षका जिल्ला अध्यक्ष कायम रहेका छन्। साविक जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादव र तत्कालीन लोसपाका जिल्ला अध्यक्ष मुकुर गिरीबीच पार्टी एकीकरणपछि पनि नेतृत्वको संरचना पूर्ण रूपमा मिलिनसकेको अवस्थामा पछिल्लो विवादले जिल्लामा रहेको आन्तरिक असन्तुष्टिलाई थप सतहमा ल्याएको छ।
लुम्बिनी प्रदेशका सांसदलाई गरिएको कारबाही र प्रदेश नेतृत्वसँगको समन्वयको विषयमा देखिएको असन्तुष्टि अब जिल्ला तहका कार्यक्रममा समेत सार्वजनिक रूपमा प्रकट हुन थालेपछि जसपा नेपालको एकीकरणपछिको आन्तरिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको देखिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार