काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको गोलीकाण्डपछि चर्किएको विवाद समाधानका लागि सरकारले पीडित परिवारसँग ७ बुँदे सहमति गर्दै राहत, शहीद घोषणा र रोजगारीको प्रतिबद्धता सार्वजनिक गरेको छ। यससँगै सरकार घटनापछि उत्पन्न असन्तुष्टि र आन्दोलनलाई संवादमार्फत अन्त्य गर्ने प्रयासमा सफल भएको देखिएको छ।
शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र मृतक ओमप्रकाश मेहता तथा जयप्रकाश मेहताका परिवारबीच भएको लिखित सम्झौताअनुसार दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ। त्यस्तै, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइने र प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको व्यवस्था गरिने उल्लेख छ।
बिहीबार रातिदेखि सुरु भएको लामो वार्ता शुक्रबार बिहान करिब ५ बजे सहमतिमा टुंगिएको हो। सम्झौतापत्रमा गृहमन्त्री गुरुङसँगै मृतक ओमप्रकाश मेहताका अभिभावक कुशदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्।
सहमतिसँगै पीडित परिवारले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन्। अस्पतालमा रहेका दुवै मृतकको शव परिवारले बुझ्ने भएका छन् भने आज दिउँसो २ बजे अन्त्येष्टि गरिने तयारी गरिएको छ।
सरकारले सहमतिमार्फत तत्कालीन तनाव कम गर्ने प्रयास गरे पनि घटनाको सत्यतथ्य छानबिन, दोषीमाथिको कारबाही र सहमतिका बुँदाको कार्यान्वयन अबको प्रमुख परीक्षा हुने देखिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार