मधेशमा सुरक्षा सतर्कता थप कडा, राजविराजपछि बोदेबरसाईन पनि कर्फ्युको घेरामा

राजविराज । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि मधेश प्रदेशमा सुरक्षा सतर्कता थप कडा पारिएको छ। सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेसँगै बोदेबरसाईन नगरपालिकामा यसअघि नै लागू गरिएको कर्फ्युलाई पनि निरन्तरता दिएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शुक्रबार बिहान ८ बजेदेखि राजविराजका संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो। प्रशासनका अनुसार पूर्वमा खाँडो खोला, पश्चिममा जमुनी–थलही, उत्तरमा बसविट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्मको क्षेत्र कर्फ्युको दायरामा परेको छ।

यसअघि बिहीबार राति १० बजेदेखि बोदेबरसाईन नगरपालिकामा पनि अनिश्चितकालीन कर्फ्यु लागू गरिएको थियो। दुवै क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उच्च सतर्कताका साथ परिचालन गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश उल्लङ्घन गर्ने वा गराउनेमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। साथै, सर्वसाधारणलाई घरबाहिर ननिस्कन, अफवाहमा विश्वास नगर्न र शान्ति–सुरक्षा कायम राख्न प्रशासनलाई सहयोग गर्न अपिल गरिएको छ।

देवानगञ्ज घटनाको विरोधमा बिहीबार सप्तरीका विभिन्न स्थानमा प्रदर्शन भएपछि प्रशासनले अवस्था थप जटिल बन्न नदिन सुरक्षा व्यवस्था कडा बनाएको हो। पछिल्ला घटनाक्रमले सुनसरीबाट सुरु भएको तनाव मधेश प्रदेशका अन्य जिल्लामा पनि फैलिन सक्ने आकलन गर्दै सुरक्षा निकाय उच्च सतर्कतामा बसेका छन्।

प्रतिक्रिया