उजुरीपछि ‘परीक्षामा’ मानबहादुर कार्की, आज संसदीय सुनुवाइ समितिसामु स्पष्टीकरण दिने
१३ साउन २०८३, बुधबार प्रकाशित
काठमाडौं। प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्की आज संसदीय सुनुवाइ समितिको ‘परीक्षा’मा उत्रँदै छन्। उनीविरुद्ध परेका उजुरीमाथि छलफल गर्दै समितिले आज कार्कीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने भएको हो।
सिंहदरबारमा बिहान ११:१५ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा पहिलो चरणमा उजुरीकर्तासँग छलफल गरिनेछ। त्यसपछि कार्कीलाई समितिसमक्ष उपस्थित गराई उजुरीमा उठाइएका विषय, संवैधानिक जिम्मेवारी निर्वाह गर्ने क्षमता, नैतिक आचरण तथा नियुक्तिसम्बन्धी प्रक्रियाबारे सांसदहरूले प्रश्न गर्नेछन्।
कार्कीविरुद्ध समितिमा परेको उजुरीमा प्रमुख निर्वाचन आयुक्तजस्तो संवैधानिक पदका लागि आवश्यक निष्पक्षता, योग्यता र नियुक्ति प्रक्रियामाथि प्रश्न उठाइएको छ। समितिले ती विषयमा उनको धारणा र स्पष्टीकरणका आधारमा निर्णय प्रक्रिया अघि बढाउनेछ।
संसदीय सुनुवाइ संवैधानिक नियुक्तिलाई पारदर्शी र जवाफदेही बनाउने महत्वपूर्ण चरण मानिन्छ। सुनुवाइपछि समितिले कार्कीको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ। अनुमोदन भएमा उनको प्रमुख निर्वाचन आयुक्त नियुक्तिको संवैधानिक प्रक्रिया अघि बढ्नेछ।
यसअघि मंगलबार समितिले निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र राजीव सुब्बाको सुनुवाइ सम्पन्न गरिसकेको छ। आजको सुनुवाइसँगै निर्वाचन आयोगको नेतृत्व चयन प्रक्रिया निर्णायक मोडमा पुग्ने अपेक्षा गरिएको छ।