राजमार्गमै हिंसा फैलिँदा प्रशासनको कडा कदम, पकली–कोशी ब्यारेज क्षेत्र ‘सिल’

सुनसरी । देवानगञ्जको कप्तानगञ्जमा सुरु भएको साम्प्रदायिक विवाद पूर्वपश्चिम राजमार्गसम्म फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पकलीदेखि कोशी ब्यारेजसम्मको क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

मंगलबार बिहान राजमार्ग क्षेत्रको कर्फ्यु हटाइएको थियो। तर दिउँसो कोशी कटान क्षेत्रमा होटल तथा पसलमा लुटपाट र आगजनी तथा इनरुवामा तोडफोडका घटना भएपछि प्रशासनले तत्काल कर्फ्यु पुनः लागू गरेको हो।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले अहिले सुरक्षा निकायले बल प्रयोगभन्दा संवादलाई प्राथमिकता दिएको बताए। उनले दुवै समुदायसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै सर्वसाधारणलाई समूहमा ननिस्किन र अफवाहबाट टाढा रहन आग्रह गरे।

उनका अनुसार प्रशासनको उद्देश्य थप मानवीय क्षति हुन नदिनु र वार्तामार्फत अवस्था सामान्य बनाउनु हो। त्यसैले सुरक्षा व्यवस्था कडा पारिए पनि संयम अपनाइएको उनले बताए।

यसअघि घटनाको केन्द्र बनेका देवानगञ्ज र हरिनगर गाउँपालिकामा निषेधाज्ञा कायमै थियो। पछिल्लो घटनाक्रमपछि भने तनावको प्रभाव राजमार्ग क्षेत्रसम्म पुगेपछि कर्फ्युको दायरा विस्तार गरिएको प्रशासनले जनाएको छ।

सुरक्षा निकायले प्रभावित क्षेत्रमा गस्ती बढाएको छ भने स्थिति नियन्त्रणमा नआएसम्म कर्फ्यु आदेश यथावत् रहने प्रशासनले स्पष्ट गरेको छ।

प्रतिक्रिया