शंखमुलको होस्टलमा झगडा, २२ वर्षीय युवकको ज्यान गयो

काठमाडौं, काठमाडौंको शंखमुलस्थित एक होस्टलमा भएको विवाद हिंसात्मक बन्दा २२ वर्षीय युवकले ज्यान गुमाएका छन्। सामान्य झगडाबाट सुरु भएको घटनामा धारिलो हतियार प्रहार भएपछि गम्भीर घाइते भएका वसन्त कालाथोकीको उपचारका क्रममा मृत्यु भएको हो।

काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका दाङ घोराही उपमहानगरपालिका–१७ का कालाथोकीमाथि सोही होस्टलमा बस्ने दुई युवाले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।

घटनामा बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेल संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आक्रमणबाट कालाथोकीको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिए पनि चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका हुन्।

घटनापछि प्रहरीले शेखर यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। अर्का आरोपित प्रमित पटेल भने फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको वास्तविक कारण, झगडा कसरी सुरु भयो र आक्रमणमा प्रयोग भएको हतियारलगायत विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया