काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा व्यक्त गरेको ‘एक्लोपन’को अभिव्यक्तिलाई राजनीतिक असन्तुष्टिका रूपमा नबुझ्न आग्रह गरेका छन् ।
बुधबार सिंहदरबारमा आफ्ना दलका मन्त्री तथा सांसदहरूसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री शाह कवि तथा कलाकारसमेत भएकाले उनका हरेक अभिव्यक्तिको सोझो राजनीतिक अर्थ लगाउन नमिल्ने बताएका हुन् ।
प्रधानमन्त्री शाहले केही दिनअघि सामाजिक सञ्जालमा आफू एक्लो महसुस गरिरहेको आशयको स्टाटस लेखेका थिए । उक्त अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री र रास्वपाबीच दूरी बढेको चर्चा भइरहेका बेला लामिछानेले भने त्यसको बचाउ गरेका छन् ।
‘उहाँ त एउटा कवि पनि हो, कलाकार पनि हो नि,’ लामिछानेले भने, ‘यत्रो भीडमा पनि मैले एक्लो फिल गर्न सक्दिनँ र? त्यसैले हामीले खोजेजस्तो हरेक शब्दको अर्थ खोज्न गयो भने त्यसको राजनीतिक अर्थ भन्ने नै हुँदैन । यत्रो सिंगो पार्टी सँगै उभिएको छ, कहाँ उहाँ एक्लो हुनु?’
लामिछानेले प्रधानमन्त्री शाह र आफ्नो दलबीच कुनै दूरी नरहेको संकेत गर्दै रास्वपा सरकारको नेतृत्वसँगै रहेको बताएका छन् ।
बुधबार बसेको रास्वपाको संसदीय दलको बैठकमा भने प्रधानमन्त्री शाह स्वयं उपस्थित थिएनन् । त्यसबारे लामिछानेले उक्त बैठक सांसद र पार्टी सभापतिबीचको छलफलका लागि बोलाइएको स्पष्ट पारे । ‘दलको बैठकमा दलका नेता आइहाल्नुहुन्छ, त्यसमा दुविधा छैन,’ उनले भने ।
यसैबीच, सरकारमा मन्त्री हेरफेर हुन लागेको चर्चालाई पनि लामिछानेले अस्वीकार गरेका छन् । उनले मन्त्री परिवर्तनको विषयमा तत्काल कुनै सत्यता नरहेको बताए ।
बैठकमा लामिछानेले आफ्ना मन्त्री तथा सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा संयमित हुन आग्रह गरेका थिए । पछिल्लो समय रास्वपाका केही नेता तथा सांसदका अभिव्यक्ति विवादमा परिरहेका बेला उनले पार्टीभित्रैबाट त्यसलाई नियन्त्रण गर्नुपर्ने सन्देश दिएका हुन् ।
तर सञ्चारकर्मीसँग बाहिर भने लामिछानेले आफ्ना सांसद तथा मन्त्रीहरूको बचाउ गरे । ठूलो संख्यामा सांसद भएको दलमा कहिलेकाहीँ कसैको बोली चिप्लिन सक्ने भन्दै उनले त्यसलाई पार्टीले व्यवस्थापन गर्ने बताए ।
‘धेरै सांसद भएको राजनीतिक दलभित्र कहिले कसको, कहिले कसको बोली चिप्लिन सक्छ,’ लामिछानेले भने, ‘कहिलेकाहीँ काम गर्दागर्दै यताउता हुन सक्ने पनि होला ।’
पत्रकारिता र राजनीतिक अभिव्यक्तिबीच तुलना गर्दै उनले सबै समाचार सही नहुन सक्ने र कहिलेकाहीँ हेडलाइनमै समस्या देखिने बताए । रास्वपाभित्रका नेताहरूबाट आएका विवादास्पद अभिव्यक्तिलाई पनि त्यसैगरी बुझ्नुपर्ने उनको संकेत थियो ।
प्रधानमन्त्री शाहको ‘एक्लोपन’ अभिव्यक्तिपछि सरकार र रास्वपाबीच सम्बन्धमा चिसोपन आएको चर्चा भइरहेका बेला लामिछानेको पछिल्लो अभिव्यक्तिले भने प्रधानमन्त्रीसँगको सम्बन्धलाई सामान्य रहेको देखाउने प्रयास गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार