मुन्दडा घर खानतलासीपछि प्रहरी नेतृत्वमै प्रश्न, एसपी कटवालसँग स्पष्टीकरण माग

काठमाडौं,

 विराटनगरका व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा गरिएको प्रहरी खानतलासी कारबाहीपछि मोरङ प्रहरी नेतृत्व नै जवाफदेही बन्नुपर्ने अवस्था आएको छ। कोशी प्रदेश प्रहरी कार्यालयले घटनाको कानुनी आधारदेखि निर्णय प्रक्रियासम्मका विषयमा मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग विस्तृत लिखित स्पष्टीकरण मागेको छ।

प्रदेश प्रहरी कार्यालयले कारबाही कुन सूचना वा गोप्य सूचनाको आधारमा अघि बढाइएको थियो, उक्त सूचनाको विश्वसनीयता कसरी पुष्टि गरिएको थियो तथा निर्णय कसको विश्लेषणका आधारमा गरिएको थियो भन्ने विषयमा स्पष्ट विवरण मागेको स्रोतले जनाएको छ।

त्यस्तै, ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको कारण, परिचालन आदेश दिने अधिकारी, आदेश जारी भएको समय तथा त्यससम्बन्धी जीडी इन्ट्रीको विवरण पनि पेश गर्न निर्देशन दिइएको छ।

खानतलासीका क्रममा आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको थियो वा थिएन, सम्बन्धित स्वीकृति लिइएको थियो वा थिएन तथा कारबाहीबाट के–कस्ता सामग्री बरामद भए भन्ने विवरणसमेत प्रदेश प्रहरी कार्यालयले मागेको छ। आपराधिक प्रमाण फेला नपरेको अवस्थामा यति ठूलो प्रहरी परिचालन गर्नुको औचित्यबारे पनि जवाफ दिन भनिएको छ।

प्रदेश प्रहरी कार्यालयले उक्त घटनाले विराटनगरका उद्योगी–व्यवसायी र सर्वसाधारणमा त्रासको वातावरण सिर्जना गरेको तथा प्रहरी संगठनको व्यावसायिक विश्वसनीयतामाथि समेत प्रश्न उठेको भन्दै त्यसबारे एसपी कटवालको धारणा पनि मागेको स्रोतले जनाएको छ।

प्रतिक्रिया