वार्ताले टार्‍यो अर्को टकराव : डा. केसीले २४औँ सत्याग्रह अन्त्य गरे

काठमाडौं । केही दिनदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका मागलाई लिएर सरकारमाथि दबाब बढाइरहेका डा. गोविन्द केसीले अन्ततः सरकारसँग सहमति भएपछि आफ्नो २४औँ सत्याग्रह (अनशन) अन्त्य गरेका छन्।

बिहीबारदेखि कैलालीको धनगढीमा अनशन सुरु गरेका डा. केसीसँग प्रारम्भिक चरणमै सरकारले संवादको प्रयास गरेको थियो। शुक्रबार शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उनका सहयोगी डा. अमृत जैशीमार्फत वार्ता अघि बढाउने सन्देश दिएका थिए। त्यसपछि शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा सरकारी वार्ता टोली शनिबार धनगढी पुगेर डा. केसी पक्षसँग लामो छलफल गरेको थियो।

वार्ताका क्रममा चिकित्सा शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, विगतका सम्झौताको कार्यान्वयनलगायत विषयमा सहमति जुटेपछि डा. केसीले आफ्नो अनशन तोड्ने निर्णय गरेका हुन्।

डा. केसीको सत्याग्रह लम्बिए स्वास्थ्य सेवा र चिकित्सा शिक्षासम्बन्धी आन्दोलन थप चर्किने आकलन भइरहेका बेला सरकारले वार्ताबाट निकास खोज्न सफल भएको छ। यससँगै तत्कालका लागि आन्दोलन स्थगित भए पनि सहमतिका बुँदाहरू व्यवहारमा कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने विषयले अब सरकारको परीक्षा लिने देखिएको छ।

यसअघि पनि डा. केसीले गरेका अधिकांश सत्याग्रह सरकारसँगको सहमतिपछि टुंगिए पनि कार्यान्वयनमा ढिलाइ भएको भन्दै पटक–पटक नयाँ आन्दोलन गर्नुपरेको थियो। त्यसैले यसपटकको सहमति कागजमा मात्रै सीमित रहन्छ वा व्यवहारमा पनि लागू हुन्छ भन्ने प्रश्नलाई सरोकारवालाले नजिकबाट हेरिरहेका छन्।

प्रतिक्रिया