काठमाडौं,
सुनसरीको कप्तानगन्जमा प्रहरीको गोली लागेर घाइते भएका रबिन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न तनाव समाधान गर्न गृहमन्त्री सुधन गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जाने तयारीमा रहेका छन्।
मेहताका आफन्त र पीडित पक्षले अस्पताल परिसरमा धर्ना दिँदै गृहमन्त्री स्वयं उपस्थित भएर आफ्ना माग सम्बोधन गर्नुपर्ने अडान लिएका छन्। उनीहरूले माग पूरा नभएसम्म शव नबुझ्ने घोषणा गरेपछि गृहमन्त्री अस्पताल जान लागेका हुन्।
गृहमन्त्री निकट स्रोतका अनुसार, गुरुङ दिउँसो १ बजेदेखि हिन्दु र मुस्लिम समुदायका अगुवाहरूसँग छलफलमा व्यस्त थिए। उक्त छलफल अन्तिम चरणमा पुगेको र त्यसलगत्तै उनी शिक्षण अस्पताल पुग्ने तयारीमा छन्।
यसअघि मंगलबार बिहान रबिन्द्र मेहताको उपचारकै क्रममा मृत्यु भएपछि उनका आफन्तले अस्पताल परिसरमा धर्ना र नाराबाजी गरेका थिए। उनीहरूले दोषीमाथि कारबाही, पीडित पक्षका मागको तत्काल सम्बोधन तथा गृहमन्त्रीको प्रत्यक्ष उपस्थितिको माग राख्दै आन्दोलन गरिरहेका छन्।
रबिन्द्र मेहताको मृत्युसँगै कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि जयप्रकाश मेहता र ओमप्रकाश मेहताको मृत्यु भइसकेको थियो। पछिल्लो घटनाक्रमसँगै पीडित पक्ष र सरकारबीच वार्तामार्फत समाधान खोज्ने प्रयास तीव्र भएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार