काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरू काठमाडौंको माइतीघर मण्डलामा सडक आन्दोलनमा उत्रिएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा गम्भीर त्रुटि भएको आरोप लगाउँदै उनीहरूले निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग गरेका छन्।
बुधबार आयोजित प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘१२ वर्षको मेहनत खेरको जिम्मेवार को ?’, ‘हाम्रो भविष्य बर्बाद भयो, न्याय खोज्न कहाँ जाऔँ ?’ र ‘मन्त्रीहरूको अहंकारको मूल्य विद्यार्थीहरूले किन चुकाउनुपर्छ ?’ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गर्दै सरकार र सम्बन्धित निकायप्रति आक्रोश व्यक्त गरेका थिए।
विद्यार्थीहरूको भनाइमा नतिजा छिटो सार्वजनिक गर्ने नाममा मूल्याङ्कन प्रक्रियामा लापरबाही भएको छ। त्यसको प्रत्यक्ष असर हजारौँ विद्यार्थीको शैक्षिक भविष्यमा परेको उनीहरूको दाबी छ। उनीहरूले निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण, निष्पक्ष छानबिन तथा मूल्याङ्कन प्रक्रियामा पूर्ण पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्।
रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायतका विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले नतिजासम्बन्धी विवाद केवल अंकको विषय नभई भविष्यसँग जोडिएको गम्भीर प्रश्न भएको बताएका छन्।
“हामीले १२ वर्षसम्म गरेको मेहनत केही घण्टाको त्रुटिपूर्ण मूल्याङ्कनले निर्धारण गर्न सक्दैन,” प्रदर्शनमा सहभागी एक विद्यार्थीले भने, “हाम्रो माग सुनुवाइ नभएसम्म आन्दोलन रोकिने छैन।”
विद्यार्थीहरूले सम्बन्धित निकायले आफ्ना माग तत्काल सम्बोधन नगरे थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएका छन्।
यता शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि नभएको दाबी गर्दै आएको छ। मन्त्रालयको यो अडान र विद्यार्थीहरूको बढ्दो असन्तुष्टिबीच कक्षा १२ को नतिजा अहिले राष्ट्रिय बहसको विषय बनेको छ।
हजारौँ विद्यार्थीको भविष्यसँग जोडिएको यो विवादमा सम्बन्धित निकायले विश्वासिलो र पारदर्शी जवाफ दिन नसके आन्दोलन अझै चर्किन सक्ने देखिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार