काठमाडौं। सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न राष्ट्रिय चिन्ताबीच प्रमुख राजनीतिक दलहरू पहिलोपटक एकै टेबलमा बसेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको हो।
लेखा समितिको बैठक कक्षमा जारी बैठकको मुख्य एजेन्डा सुनसरी घटनापछि बिग्रिएको सामाजिक सद्भाव, शान्ति–सुरक्षाको अवस्था र राजनीतिक दलहरूको साझा धारणा निर्माण रहेको बताइएको छ।
बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन्।
सुनसरीको घटनामा एक जनाको मृत्यु, दर्जनौं घाइते तथा त्यसपछि कर्फ्यु जारी हुनुपरेको अवस्थाले राष्ट्रिय राजनीतिलाई समेत तरंगित बनाएको छ। यही पृष्ठभूमिमा दलहरूबीच आरोप–प्रत्यारोपभन्दा बाहिर निस्केर साझा निष्कर्षमा पुग्ने प्रयासस्वरूप बैठक आयोजना गरिएको हो।
बैठकमा घटनाको निष्पक्ष छानबिन, दोषीलाई कानुनी दायरामा ल्याउने, पीडितलाई राहत उपलब्ध गराउने तथा सामाजिक सद्भाव कायम राख्न सबै दलले संयुक्त अपिल जारी गर्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।
बैठकको निष्कर्ष सार्वजनिक भएपछि सुनसरी घटनाबारे राजनीतिक दलहरूको आधिकारिक साझा धारणा बाहिर आउने अपेक्षा गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार