भारतले दियो भ्रमणको संकेत, प्रधानमन्त्री शाहको दिल्ली यात्रा फेरि चर्चामा

   काठमाडौं । लामो समयदेखि चर्चा हुँदै आएको प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले फेरि चर्चा पाएको छ। भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पठाइसकेको पुष्टि गरेपछि भ्रमणको तयारीले नयाँ मोड लिएको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई निमन्त्रणा पठाइसकिएको जानकारी दिए। यद्यपि भ्रमण कहिले हुने, निमन्त्रणा कहिले पठाइएको हो वा भ्रमणका एजेन्डा के हुनेछन् भन्नेबारे भने उनले कुनै विवरण खुलाएनन्।

पछिल्ला केही महिनादेखि प्रधानमन्त्री शाहको भारत भ्रमणबारे विभिन्न तहमा चर्चा हुँदै आएको थियो। नेपालमा नयाँ सरकार गठन भएपछि भारत पहिलो द्विपक्षीय भ्रमण गन्तव्य बन्ने अपेक्षा गरिएको थियो। तर आन्तरिक राजनीतिक व्यस्तता र दुवै देशबीच कूटनीतिक तयारीका कारण भ्रमणको मिति सार्वजनिक हुन सकेको थिएन।

यस अवधिमा नेपालका उच्च सरकारी अधिकारीहरूको भारत भ्रमण र दुई देशका कूटनीतिक संयन्त्रबीच भएका भेटवार्तालाई पनि प्रधानमन्त्रीको सम्भावित भ्रमणको पूर्वतयारीका रूपमा विश्लेषण गरिएको थियो। यद्यपि भारतले यसअघि भ्रमणबारे औपचारिक पुष्टि गरेको थिएन।

नेपाल–भारत सम्बन्धका दृष्टिले यो भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ। ऊर्जा व्यापार, सीमासम्बन्धी विषय, व्यापार तथा पारवहन, रेल र सडक पूर्वाधार, प्रसारण लाइन विस्तार तथा लगानी सहकार्यजस्ता विषय सम्भावित एजेन्डामा रहने अपेक्षा गरिएको छ।

भारतीय विदेश मन्त्रालयको पछिल्लो अभिव्यक्तिले अब प्रधानमन्त्री शाहको भारत भ्रमण औपचारिक तयारीको चरणमा प्रवेश गरेको संकेत दिएको विश्लेषण भइरहेको छ। अब दुवै देशबीचको कूटनीतिक समन्वयपछि भ्रमणको मिति सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया