धनुषा, करिब दुई सातादेखि बेपत्ता रहेका १५ महिने शिशुको खोजीमा खटिएको प्रहरी टोली अन्ततः दशगज्जा क्षेत्रमा पुग्यो। त्यहाँ शिशुलाई फेला पार्नुका साथै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।
धनुषाको विदेह नगरपालिका–६ का कमलेश महतोका १५ महिने छोरा सिद्धान्त महतो भदौ १८ गते अपहरणमा परेका थिए। शिशु अपहरणमा परेको सूचना पाएपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाउँदै खोजी अभियान सञ्चालन गरेको थियो।
खोजीका क्रममा प्रहरीले तालिम प्राप्त कुकुरसमेत परिचालन गरेको थियो। अनुसन्धानबाट प्राप्त सूचनाका आधारमा प्रहरी टोली विदेह नगरपालिका–१ स्थित दशगज्जा क्षेत्रमा पुगेपछि त्यहाँ शिशु रहेको स्थान पत्ता लागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरी टोली पुगेपछि शिशुलाई छाडेर भाग्न खोजेकी कमला नगरपालिका–९ की पुनितादेवी पासवानलाई तत्कालै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
प्रहरीले करिब दुई सातादेखि खोजी भइरहेको शिशुलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको जनाएको छ। लामो समयपछि बच्चा सुरक्षित रूपमा घर फर्किएपछि परिवारमा राहत मिलेको छ।
पक्राउ परेकी पासवानमाथि भने प्रहरीले अनुसन्धान अघि बढाएको छ। उनीविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन र ओसारपसारसम्बन्धी अभियोगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
घटनामा पासवानको मात्र संलग्नता थियो वा अन्य व्यक्तिहरूको समेत भूमिका रहेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। शिशुलाई कहाँ र कुन उद्देश्यले राखिएको थियो भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
दशगज्जा क्षेत्रमा शिशु फेला परेकाले घटनाको अनुसन्धानमा सीमावर्ती क्षेत्रसँग जोडिएका सम्भावित पक्षलाई समेत प्रहरीले सूक्ष्म रूपमा हेर्नुपर्ने अवस्था देखिएको छ। यद्यपि, घटनामा सीमा पारिका व्यक्ति वा समूहको संलग्नता रहेको पुष्टि भने प्रहरीले गरेको छैन।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार