न्यायपालिकाको प्रशासनिक नेतृत्वमा एकै दिन तीन फेरबदल, तीन न्यायाधीशसहित रजिष्ट्रार र सचिव सिफारिस

काठमाडौं, न्यायपालिकाको प्रशासनिक नेतृत्वमा एकै दिन व्यापक फेरबदलको प्रक्रिया अघि बढेको छ। न्याय परिषद् र न्याय सेवा आयोगका मंगलबार बसेका बैठकले उच्च अदालतका तीन न्यायाधीशसहित सर्वोच्च अदालतका रजिष्ट्रार र न्याय परिषद्का सचिवका लागि नयाँ नाम सिफारिस गरेका छन्।

प्रधानन्यायाधीश डा. मनोज शर्माको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ। उनीसँगै जिल्ला न्यायाधीश हिमलाल बेलबासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह पनि उच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका छन्।

रजिष्ट्रार पोखरेल उच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएपछि सर्वोच्च अदालतको प्रशासनिक नेतृत्वमा पनि नयाँ अनुहार आउने भएको छ। न्याय सेवा आयोगले सर्वोच्च अदालतका सहरजिष्ट्रारद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिष्ट्रार पदमा बढुवाका लागि सिफारिस गरेको छ।

यसैबीच न्याय परिषद् सचिवालयको नेतृत्वमा पनि नयाँ व्यवस्था हुने भएको छ। आयोगले परिषद्का कायममुकायम सचिव रामप्रसाद भट्टराईलाई परिषद् सचिवका लागि सिफारिस गरेको छ।

भट्टराई २०२९ वैशाख १७ गते झापामा जन्मिएका हुन्। उनले २०५६ भदौ ७ गते न्याय सेवाको अधिकृत पदबाट सेवा सुरु गरेका थिए। उपरजिस्ट्रार हुँदै २०७४ जेठ १९ गते सहरजिस्ट्रार बनेका भट्टराई पछिल्लो समय न्याय परिषद् सचिवालयमा कायममुकायम सचिवका रूपमा कार्यरत थिए।

परिषद्का सचिव जितेन्द्रबाबु थपलिया गत वैशाखमा उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि भट्टराईले कायममुकायम सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।

मंगलबारका निर्णयले न्यायपालिकाको न्यायिक संरचनासँगै प्रशासनिक तहमा समेत एकैपटक नयाँ नेतृत्वको बाटो खोलेको छ। उच्च अदालतमा तीन न्यायाधीशका लागि सिफारिस, सर्वोच्चमा रजिष्ट्रार परिवर्तन र न्याय परिषद् सचिवका लागि नयाँ सिफारिसले न्याय प्रशासनमा नेतृत्व पुनर्संरचनाको प्रक्रिया अघि बढेको देखिएको छ।

प्रतिक्रिया