अन्तरिक्षमै युद्धको तयारी : अमेरिका–चीन–रुसबीच बढ्दै सैन्य प्रतिस्पर्धा

काठमाडौं,  पृथ्वीको कक्षलाई लामो समयसम्म वैज्ञानिक अनुसन्धान र सञ्चारको क्षेत्रका रूपमा हेरिँदै आए पनि पछिल्ला वर्षमा अन्तरिक्ष विश्व शक्तिहरूबीचको सैन्य प्रतिस्पर्धाको नयाँ मैदान बन्न थालेको छ। अमेरिकाले कक्षमा शत्रुतापूर्ण गतिविधि रोक्न सक्ने हतियार प्रणाली आफूहरूसँग रहेको सार्वजनिक गरेसँगै अन्तरिक्षमा सम्भावित युद्धको तयारीबारे बहस थप चर्किएको छ।

अमेरिकी अधिकारीहरूले पहिलोपटक अन्तरिक्षमा तैनाथ ‘स्पेस कन्ट्रोल वेपन्स’ बारे सार्वजनिक रूपमा स्वीकार गरेका हुन्। अमेरिकी वायुसेना सचिव ट्रोय मिन्कका अनुसार अन्तरिक्ष अमेरिकी सैन्य र आर्थिक सुरक्षाका लागि महत्वपूर्ण भएकाले त्यहाँ आवश्यक पर्दा स्वतन्त्र रूपमा काम गर्न सक्ने क्षमता विकास गर्नु अपरिहार्य बनेको छ।

यसको अर्थ पृथ्वीबाट अन्तरिक्षलाई नियाल्ने मात्र होइन, अन्तरिक्षमै सैन्य शक्ति परिचालन गर्ने अमेरिकी रणनीति अघि बढिसकेको संकेतका रूपमा हेरिएको छ।

अमेरिकाले अन्तरिक्षमा आफ्नो सैन्य क्षमता विस्तार गर्नुको प्रमुख कारण चीन र रुससँग तीव्र बन्दै गएको रणनीतिक प्रतिस्पर्धालाई मानिएको छ। अमेरिकी स्पेस फोर्सका अधिकारीहरूले चीनले उपग्रह तथा अन्य अन्तरिक्ष संरचनालाई पहिचान र निष्क्रिय बनाउन सक्ने ‘काउन्टरस्पेस’ क्षमता तीव्र रूपमा विकास गरिरहेको दाबी गर्दै आएका छन्।

स्पेस फोर्सका अपरेसन प्रमुख जनरल चान्स साल्ट्जम्यानले चीनले अन्तरिक्षमा लक्ष्य पत्ता लगाउनेदेखि त्यसलाई नष्ट गर्न सक्ने क्षमतासम्म विकास गरिरहेको बताएका छन्। उनका अनुसार चिनियाँ क्षमता अमेरिकाका लागि उल्लेख्य खतरा बन्न सक्छ।

रुसले पनि अन्तरिक्षलाई भविष्यको सैन्य द्वन्द्वको महत्वपूर्ण क्षेत्रका रूपमा हेर्दै आएको अमेरिकी अधिकारीहरूको दाबी छ। यसले पृथ्वीमा मात्र नभई पृथ्वीको कक्षमा समेत अमेरिका, चीन र रुसबीच रणनीतिक शक्ति सन्तुलनको प्रतिस्पर्धा बढाएको छ।

मिसाइलदेखि उपग्रहसम्म निगरानी

अमेरिकी योजनामा अन्तरिक्षबाट मिसाइल तथा हवाई गतिविधिको निगरानी र आवश्यक अवस्थामा प्रतिरोध गर्ने प्रणालीलाई प्राथमिकता दिइएको छ।

अमेरिकी वायुसेना सचिव मिन्कले ‘स्पेस–बेस्ड इन्टरसेप्टर’ तथा ‘स्पेस–बेस्ड एयर–मुभिङ टार्गेट इन्डिकेसन’ जस्ता प्रणालीको उल्लेख गरेका छन्। यीमध्ये पहिलो प्रणाली राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘गोल्डेन डोम’ मिसाइल रक्षा कार्यक्रमसँग जोडिएको छ।

यस्ता प्रणालीको उद्देश्य केवल अन्तरिक्षमा उपस्थित हुनु नभई अन्तरिक्षलाई पृथ्वीको सुरक्षा प्रणालीकै एउटा महत्वपूर्ण तहका रूपमा प्रयोग गर्नु हो।

तर अमेरिकाले यी प्रणाली वास्तवमा कति प्रभावकारी छन्, कुन अवस्थामा प्रयोग गर्न सकिन्छन् र तिनको परीक्षण तथा सञ्चालन कस्तो अवस्थामा पुगेको छ भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

व्यावसायिक उपग्रहले पनि बढाउँदै जोखिम

अन्तरिक्षको सैनिकीकरणसँगै व्यावसायिक उपग्रहको संख्या पनि तीव्र रूपमा बढिरहेको छ। सञ्चार, इन्टरनेट, मौसम, नेभिगेसन र पृथ्वीको निगरानीका लागि हजारौँ उपग्रह कक्षमा पुगिसकेका छन्।

स्पेसएक्सको स्टारलिंक नेटवर्क मात्र हजारौँ उपग्रहमा विस्तार भइसकेको छ र आगामी वर्षहरूमा थप उपग्रह प्रक्षेपण गर्ने योजना छ।

यसले अन्तरिक्षलाई आर्थिक रूपमा महत्वपूर्ण बनाउनुका साथै सैन्य दृष्टिले पनि अझ संवेदनशील क्षेत्र बनाएको छ। एउटै कक्षमा सैन्य र व्यावसायिक उपग्रहको संख्या बढ्दै जाँदा कुनै सैन्य गतिविधिले नागरिक संरचनासमेत प्रभावित पार्न सक्ने जोखिम बढेको छ।

एउटा उपग्रह नष्ट हुँदा हजारौँ टुक्राको खतरा

अन्तरिक्षमा सैन्य गतिविधि बढ्नुको अर्को ठूलो चिन्ता ‘स्पेस डेब्रिस’ अर्थात् अन्तरिक्ष फोहोर हो।

कुनै उपग्रह वा अन्तरिक्षयानलाई क्षति पुर्‍याउँदा त्यसबाट उत्पन्न हुने हजारौँ साना टुक्रा पृथ्वीको कक्षमा फैलिन सक्छन्। ती टुक्राले अन्य उपग्रह वा अन्तरिक्षयानसँग ठोक्किएर थप क्षति निम्त्याउन सक्छन्।

त्यसैले अन्तरिक्षमा सैन्य शक्ति बढाउने होड केवल अमेरिका, चीन र रुसबीचको प्रतिस्पर्धाको विषय नभई विश्वभरका सञ्चार, इन्टरनेट, मौसम तथा नेभिगेसन प्रणालीको सुरक्षासँग जोडिएको विषय बन्न पुगेको छ।

अमेरिकाले आफ्नो अन्तरिक्ष सैन्य क्षमता रक्षात्मक उद्देश्यका लागि आवश्यक रहेको बताउँदै आएको छ। चीन र रुसको बढ्दो क्षमतालाई कारण देखाउँदै अमेरिकाले थप प्रणाली विकास गरिरहेको छ।

तर तीन ठूला सैन्य शक्तिले एकपछि अर्को गर्दै अन्तरिक्षमा आफ्नो क्षमता विस्तार गरिरहेकाले भविष्यको युद्धको स्वरूप पृथ्वीको सतहमा मात्र सीमित नहुने संकेत भने स्पष्ट हुँदै गएको छ।

प्रतिक्रिया