मानव विकासमा केन्द्रित केपिलासगढीको बजेट, शिक्षामा सबैभन्दा बढी लगानी

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ५१ लाख ५ हजार १७० रुपैयाँको बजेट सार्वजनिक गर्दै मानव विकासलाई प्राथमिकतामा राखेको जनाएको छ। गाउँपालिकाले विशेषगरी शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरेको छ।

मंगलबार गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष गुरुराज राईले बजेट प्रस्तुत गरेका हुन्। प्रस्तुत बजेटमा मानव विकासका सूचक सुधार, आधारभूत सेवाको पहुँच विस्तार तथा स्थानीय उत्पादन वृद्धिलाई मुख्य लक्ष्य बनाइएको गाउँपालिकाले जनाएको छ।

बजेटको सबैभन्दा ठूलो हिस्सा शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा १६ करोड ८५ लाख ६८ हजार ५१० रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको उल्लेख्य हिस्सा हो। गाउँपालिकाले गुणस्तरीय शिक्षा, शैक्षिक पूर्वाधार विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा जोड दिने नीति लिएको जनाएको छ।

स्वास्थ्य क्षेत्रका लागि ३ करोड ५६ लाख ८५ हजार ६६८ रुपैयाँ बजेट विनियोजन गरिएको छ। आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य बजेटले लिएको छ।

त्यसैगरी स्थानीय अर्थतन्त्रको आधार मानिएको कृषि क्षेत्रका लागि ४ करोड ३७ लाख ५१ हजार ६४० रुपैयाँ बजेट छुट्याइएको छ। कृषि उत्पादन वृद्धि, व्यवसायीकरण तथा कृषकको आयस्तर सुधार गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ।

क्षेत्रगत रूपमा सामाजिक विकासतर्फ सबैभन्दा बढी २२ करोड ७५ लाख ६२ हजार ५०० रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक विकासका लागि ६ करोड १ लाख २६ हजार ८६० रुपैयाँ, पूर्वाधार विकासका लागि ९ करोड १५ लाख ८० हजार ६१५ रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ८९ लाख ५० हजार ५०० रुपैयाँ तथा प्रशासनिक र कार्यालय सञ्चालन खर्चका लागि ८ करोड ६८ लाख ८४ हजार ६९५ रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए।

खानेपानी क्षेत्रमा २ करोड ९१ लाख १२ हजार ५०० रुपैयाँ, पर्यटन क्षेत्रमा १ करोड ६१ लाख ११ हजार रुपैयाँ, सिँचाइतर्फ १० लाख ५० हजार रुपैयाँ तथा विपद् व्यवस्थापन कोषका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिका अध्यक्ष समिर राईले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताउँदै यसले स्थानीय उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

स्थानीय तहको सीमित स्रोतसाधनका बीच पनि नागरिकको जीवनस्तर उकास्ने, मानव विकासका सूचक सुधार गर्ने तथा आधारभूत सेवाको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित बजेट ल्याइएको गाउँपालिकाको भनाइ छ। गाउँपालिकाले प्रस्तुत गरेको बजेटले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासमार्फत समग्र मानव विकासलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया