कपिलवस्तु । बाणगंगा नदीमा अचानक पानीको बहाव बढेपछि नदीको बीचमा फसेका ७ युवाको शनिबार दिउँसो सकुशल उद्धार गरिएको छ।
बाणगंगा नगरपालिका–८ स्थित बालपुर गाउँ नजिकै पौडी खेल्न गएका उनीहरू पानीको बहाव बढेपछि नदीको बीचमा फसेका थिए।
घटनाको खबर पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली उद्धारमा खटिएको थियो। सुरक्षाकर्मीले करिब डेढ घण्टाको प्रयासपछि उनीहरूलाई सकुशल बाहिर निकालेका हुन्।
उद्धारका क्रममा सुरक्षाकर्मीहरू ढुङ्गा, डोरीलगायतका सामग्रीसहित नदीमा प्रवेश गरेका थिए। उद्धारलाई सहज बनाउन क्रेनसमेत प्रयोग गरिएको थियो।
उद्धार हुनेमा बाणगंगा नगरपालिका–४ का सम्राट गिरी, निर्वाचन नेपाली, ज्ञानेन्द्र परियार, कृष्ण तिवारी र मनिष थापा, वडा नम्बर १ का विकल्प रेग्मी तथा वडा नम्बर ८ का सुभाष घिमिरे रहेका छन्।
प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार अर्घाखाँची क्षेत्रमा वर्षा भएपछि बाणगंगा नदीको बहाव बढेको हो।
नदीको बहाव बढिरहेको भन्दै प्रशासनले नदी आसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार