नातागोताका खातादेखि जग्गासम्म : भ्रष्टाचारको रकम ‘वैध’ बनाउन महतोले अपनाएको भनिएको बाटो

काठमाडौं । भ्रष्टाचारबाट आर्जन गरेको रकम लुकाउन आफन्तका बैंक तथा सहकारी खाताको प्रयोगदेखि जग्गा कारोबार र मुद्दती निक्षेपसम्मको प्रक्रिया अपनाएको आरोपमा काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो (कोइरी) सहित चारजनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार महतोले गैरकानुनी रूपमा आर्जन गरेको रकम आफू र आफ्नो परिवारका सदस्यसँगै नातागोताका व्यक्तिका खातामा जम्मा गरेर त्यसको स्रोत लुकाउने प्रयास गरेका थिए।

मुद्दामा महतोकी श्रीमती मालाकुमारी महतो, साली रीना कुशवाहा र साढुभाइ कृष्णप्रसाद मेहता पनि प्रतिवादी छन्।

अख्तियारको अनुसन्धानअनुसार गैरकानुनी रूपमा आर्जित रकमलाई एकै ठाउँमा नराखी विभिन्न बैंक तथा सहकारी खातामार्फत कारोबार गरिएको थियो। त्यसपछि वास्तविक मूल्यभन्दा कम थैली कायम गरी नगद र चेकमार्फत जग्गा खरिद गर्ने, बैंक तथा सहकारीको कर्जा र बैनाबट्टा कागजको आवरणमा कारोबार गर्ने तथा रकमलाई विभिन्न चरणमा घुमाउने काम भएको आयोगको दाबी छ।

यसरी रकमको वास्तविक स्रोत लुकाउँदै सम्पत्तिलाई वैध देखाउने प्रयास भएको अख्तियारको निष्कर्ष छ। गैरकानुनी रकम मुद्दती निक्षेपमा राखेर त्यसबाट प्राप्त ब्याजलाई समेत वैधानिक आम्दानीको स्रोतका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

अख्तियारले महतो र उनकी श्रीमती मालाकुमारीविरुद्ध जनही ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ बिगो दाबी गरेको छ। उनीहरूविरुद्ध बिगोको दोब्बर जरिवाना, कैद तथा गैरकानुनी सम्पत्तिबाट खरिद गरिएका जग्गा जफत गर्नसमेत माग गरिएको छ।

त्यस्तै, गैरकानुनी सम्पत्ति लुकाउने, सम्पत्तिको स्रोत परिवर्तन गर्ने तथा जग्गा खरिदमा सहयोग पुर्‍याउने कार्यमा मतियारको भूमिका निर्वाह गरेको आरोपमा रीना कुशवाहा र कृष्णप्रसाद मेहताविरुद्ध मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय मागदाबी गरिएको छ।

यो प्रकरणमा अख्तियारले भ्रष्टाचारबाट कमाएको भनिएको रकमभन्दा त्यसलाई कसरी तहगत कारोबारमार्फत लुकाएर वैध देखाउने प्रयास गरियो भन्ने पक्षलाई सम्पत्ति शुद्धीकरणको कसुरको आधार बनाएको देखिन्छ।

महतोविरुद्ध यसअघि नै गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर भइसकेको छ। अख्तियारले २०८२ जेठ २६ गते ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो दाबी गर्दै दायर गरेको उक्त मुद्दा विचाराधीन छ।

यसपटकको मुद्दामा भने त्यही गैरकानुनी रूपमा आर्जित भनिएको सम्पत्तिलाई परिवार र नातागोताका व्यक्तिको नाम तथा खातामार्फत घुमाएर जग्गा, बैंक तथा सहकारी कारोबार र मुद्दती निक्षेपमा प्रयोग गरी स्रोत लुकाएको आरोप केन्द्रमा राखिएको छ।

प्रतिक्रिया