पेसमेकर प्रतिस्थापनपछि महन्थ ठाकुर डिस्चार्जको तयारीमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक तथा राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरको मुटुको पेसमेकर सफलतापूर्वक प्रतिस्थापन गरिएको छ। उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेसँगै उनलाई अस्पतालबाट घर फर्काउने तयारी गरिएको छ।

काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ठाकुरको पेसमेकर प्रतिस्थापन गरिएको जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले जानकारी दिए। यसअघि भारतमा पेसमेकर जडान गराएका ठाकुरको नियमित स्वास्थ्य परीक्षणका क्रममा नयाँ पेसमेकर प्रतिस्थापन गरिएको हो।

उपचार सफल भएपछि चिकित्सकहरूले ठाकुरको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। महासचिव झाका अनुसार उनलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको छ।

ठाकुर अस्पतालमा उपचाररत रहेपछि उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन विभिन्न राजनीतिक दलका नेताहरू अस्पताल पुग्ने क्रम पनि चलेको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले हिजो अस्पताल पुगेर ठाकुरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। यादवसँगै पार्टीका महासचिव प्रकाश अधिकारी, सचिव शैलेन्द्र साह र केन्द्रीय सदस्य भुवनेश्वर चौधरीलगायत नेताहरू अस्पताल पुगेका थिए।

त्यस्तै, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जसपा नेपालका सहअध्यक्ष शरदसिंह भण्डारी र नेता मृगेन्द्रकुमार सिंह यादवलगायत नेताहरूले पनि आज अस्पताल पुगेर ठाकुरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

उपचारपछि स्वास्थ्य सामान्य रहेको र डिस्चार्जको तयारी भइरहेकाले ठाकुरको स्वास्थ्यबारे देखिएको पछिल्लो चिन्ता तत्कालका लागि टरेको उनका पार्टीका नेताहरूले बताएका छन्।

प्रतिक्रिया