सरकारलाई उज्यालो नेपालको चेतावनी: ‘प्रचार होइन, जनविश्वास फर्काउने काम गर’

काठमाडौं । उज्यालो नेपाल पार्टीले वर्तमान सरकार लोकप्रियता कमाउने सस्तो प्रचारमा अल्झिएको आरोप लगाउँदै जनविश्वास पुनःस्थापित गर्ने काममा केन्द्रित हुन आग्रह गरेको छ।

काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीले मुलुकको अर्थतन्त्रमा देखिएको निराशा चिर्न ठोस नीति र प्रभावकारी कार्यसम्पादन आवश्यक रहे पनि सरकार प्रचारमुखी गतिविधिमा बढी व्यस्त देखिएको टिप्पणी गरेको हो।

पार्टी अध्यक्ष कुलमान घिसिङले पछिल्लो समय राज्य सञ्चालनमा प्रक्रियाभन्दा व्यक्तिकेन्द्रित निर्णय शैली हाबी हुँदै गएको जनअनुभूति बढेको बताए। उनले यस्तो प्रवृत्तिले लोकतान्त्रिक संस्थाको विश्वसनीयता कमजोर पार्नुका साथै राज्य प्रणालीप्रतिको नागरिकको भरोसा घटाउने जोखिम रहेको उल्लेख गरे।

घिसिङले मन्त्रालयहरूमा बाहिरबाट नियुक्त स्वकीय सचिव र सल्लाहकारहरूको बढ्दो हस्तक्षेपका कारण स्थायी कर्मचारीतन्त्र निरुत्साहित बन्दै गएको दाबी पनि गरे। प्रशासनिक निर्णयमा अनावश्यक राजनीतिक प्रभाव बढ्दा सुशासन प्रभावित भएको उनको भनाइ थियो।

उज्यालो नेपालले सरकारका जनहितकारी र सकारात्मक निर्णयमा रचनात्मक सहयोग गर्ने तर भ्रष्टाचार संरक्षण, कमजोर कार्यसम्पादन, संस्थागत कमजोरी र गैरजिम्मेवार शासनशैलीविरुद्ध लोकतान्त्रिक ढंगले सशक्त प्रतिवाद गर्ने नीति पनि सार्वजनिक गरेको छ।

त्यसैगरी बैठकले संविधान, कानुन र स्थापित प्रक्रियाभन्दा माथि कुनै पनि व्यक्ति वा पद हुन नसक्ने स्पष्ट गर्दै विधिको शासनलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।

पार्टीले दीर्घकालीन आर्थिक तथा सामाजिक रूपान्तरणको आधारका रूपमा ‘हरित क्रान्ति, समृद्ध नेपाल’ राष्ट्रिय मार्गसमेत केन्द्रीय समितिबाट पारित गरेको जनाएको छ।

प्रतिक्रिया