काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ। नेपाल प्रहरीले राति ११ः०५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार सात जिल्लामा १५७ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव फेला परेको छ। त्यस्तै धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव भेटिएको छ।
फेला परेका शवमध्ये ३४ महिला, ६३ पुरुष, ६ बालिका र ७ बालक रहेका छन्। ४७ जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ। नुवाकोटमा ६ महिला र ७ पुरुष, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा ६ जना पहिचान नखुलेका व्यक्तिको शव फेला परेको छ।
त्यस्तै गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठ जनाको शव भेटिएको छ। चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव फेला परेको छ।
तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र एक पहिचान नखुलेको शव भेटिएको छ। नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक र चार पहिचान नखुलेका व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीमा परी नेपाल प्रहरीका २८ जना कर्मचारीसमेत अझै सम्पर्कविहीन रहेको प्रहरीको विवरणमा उल्लेख छ।
यस्तै, बाढी प्रभावित ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २० जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १ जना, नर्भिक अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा ९ जना उपचाररत छन्।
प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार