काठमाडौं । रसुवाको भोटेकोशीसहितका क्षेत्रमा आएको विनाशकारी बाढीले देशको ठूलो भूभागमा मानवीय तथा भौतिक क्षति पुर्याइरहेका बेला पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउने क्रममा नेपालले निजी क्षेत्रबाट ठूलो सहयोग पाएको छ ।
विश्वकै प्रमुख प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर सहयोग गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार सहयोगको पुष्टि गरेका हुन्।
हुआङको सहयोग करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको हो । बाढीले सडक, पुल, बस्ती र जलविद्युत् आयोजनासहितका संरचनामा ठूलो क्षति पुर्याएको अवस्थामा आएको यो रकम तत्काल राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि महत्वपूर्ण स्रोत बन्ने अपेक्षा गरिएको छ ।
अर्थमन्त्री वाग्लेले हुआङप्रति नेपाल सरकारका तर्फबाट आभार व्यक्त गर्दै उनको सहयोगले अन्य व्यक्ति तथा संस्थालाई समेत विपत्तिमा सहयोग गर्न प्रेरित गर्ने बताएका छन् । एनभिडियाबाट आएको सहयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब रुपैयाँभन्दा माथि पुगेको वाग्लेले बताएका छन् ।
बाढीबाट भएको क्षतिको आकार भने राहत रकमको तुलनामा निकै ठूलो छ । प्रारम्भिक सरकारी आकलनअनुसार पुनर्निर्माणका लागि मात्रै ४ देखि ५ अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्न सक्ने बताइएको छ । बाढीले जलविद्युत् आयोजनादेखि सडक, पुल र बस्तीहरूसम्म व्यापक क्षति पुर्याएको छ।
विशेषगरी भोटेकोशी र त्रिशूली नदी आसपासका जलविद्युत् आयोजनामा भएको क्षतिले नेपालको ऊर्जा क्षेत्रमा समेत ठूलो चुनौती थपेको छ । दर्जनौँ आयोजनामा क्षति पुगेको र सयौँ श्रमिक तथा कर्मचारी अझै सम्पर्कविहीन रहेको अवस्थामा उद्धारसँगै आयोजनाको पुनःस्थापना पनि सरकारका लागि अर्को ठूलो जिम्मेवारी बनेको छ।
एनभिडियाका प्रमुख हुआङबाट आएको सहयोग यही पृष्ठभूमिमा महत्वपूर्ण मानिएको हो । तत्कालीन राहत वितरणभन्दा बाहिर गएर प्रभावित क्षेत्रको पूर्वाधार पुनर्निर्माण, विस्थापितको पुनःस्थापना र दीर्घकालीन पुनःउत्थानका लागि ठूलो आर्थिक स्रोत आवश्यक पर्ने देखिएको छ ।
बाढीपछि नेपालले विदेशी सरकार, अन्तर्राष्ट्रिय संस्था तथा निजी क्षेत्रबाट राहत र प्राविधिक सहयोग प्राप्त गरिरहेको छ । भारत र चीनले समेत उद्धार तथा प्राविधिक सहयोगका लागि टोली र सामग्री पठाएका छन्।
यसबीच एनभिडिया प्रमुखको सहयोगले नेपालको विपद् व्यवस्थापनमा सरकारी कोष मात्र पर्याप्त नहुने र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय तथा निजी क्षेत्रको साथ अपरिहार्य हुने अवस्थालाई पनि उजागर गरेको छ ।
अहिले सरकारसामु तत्कालको राहत वितरणसँगै हजारौँ विस्थापितको पुनःस्थापना, क्षतिग्रस्त पूर्वाधार निर्माण र जलविद्युत् आयोजनालाई पुनः सञ्चालनमा ल्याउने चुनौती छ । ठूलो परिमाणमा आवश्यक पर्ने पुनर्निर्माण खर्च जुटाउने क्रममा हुआङको सहयोगले भने सरकारको कोषमा थप महत्वपूर्ण आर्थिक आधार थपेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार