काठमाडौं, प्राकृतिक विपद्का कारण प्रभावित विद्यार्थीको अध्ययनमा थप असर नपरोस् भन्दै सरकारले विश्वविद्यालयहरूलाई भदौ १३ गतेदेखि सञ्चालन हुने परीक्षा स्थगित गर्न निर्देशन दिएको छ। विपद्का कारण परीक्षा दिन नसकेका विद्यार्थीलाई समेत पुनः परीक्षा दिने अवसर उपलब्ध गराउन सरकारले विश्वविद्यालयहरूलाई भनेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिँदै विपद्का कारण विद्यार्थी र अभिभावकको जनजीवन प्रभावित भएकाले तत्काल परीक्षा सञ्चालन नगर्न आग्रह गरेका हुन्।
सरकारको निर्देशनअनुसार भदौ १३ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित हुनेछन्। स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न विश्वविद्यालयहरूलाई भनिएको छ।
यसअघि भदौ १२ गते निर्धारित परीक्षा विभिन्न कारणले दिन नसकेका परीक्षार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्न पनि मन्त्री पोखरेलले निर्देशन दिएका छन्। यस व्यवस्थाले विपद्का कारण परीक्षा केन्द्रसम्म पुग्न नसकेका वा अन्य कारणले परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीलाई वैकल्पिक अवसर दिनेछ।
सरकारले परीक्षा स्थगनसँगै विश्वविद्यालयका नियमित गतिविधिमा समेत सावधानी अपनाउन भनेको छ। अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्न विश्वविद्यालयहरूलाई अनुरोध गरिएको छ।
विपद्बाट प्रभावित विद्यार्थी र अभिभावकसँग विश्वविद्यालय तथा सम्बन्धित शैक्षिक संस्थाले निरन्तर सम्पर्क र समन्वय गरी आवश्यक सहयोग तथा सहजीकरण गर्नुपर्ने निर्देशनमा उल्लेख छ।
त्यस्तै, प्रभावित विद्यार्थी र आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न तथा विपद्का कारण अध्ययनमा परेको असरलाई सम्बोधन गर्दै शैक्षिक निरन्तरता कायम राख्न आवश्यक व्यवस्था मिलाउन भनिएको छ।
मन्त्री पोखरेलले विपद्को कठिन समयमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई प्राथमिकतामा राखेर तत्काल आवश्यक निर्णय लिन विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार