अस्पतालको गेटमै सुत्केरी घटना : ड्युटीमा रहेका कर्मचारी हटाइए, पाँच सदस्यीय टोलीद्वारा छानबिन

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाएर छानबिन अघि बढाएको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले घटनालाई सरकारले गम्भीर रूपमा लिएको बताइन्। उनका अनुसार घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाइएको छ भने उनीहरूमाथि छानबिन भइरहेको छ।

घटनाको स्थलगत छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको मन्त्री मेहताले संसद्लाई जानकारी दिइन्। टोलीमा स्वास्थ्य मन्त्रालयका तर्फबाट स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजङ्ग रायमाझी पनि सहभागी छन्।

यससँगै घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समेत छुट्टै छानबिन समिति गठन गरिएको छ।

अस्पतालको दाबी : भर्ना भएपछि बाहिरिएकी थिइन्

मन्त्रालयले घटनालगत्तै अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो। अस्पतालले बुझाएको प्रारम्भिक विवरणअनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसव व्यथा लागेपछि ३० वर्षीया बबिताकुमारी पासवान अस्पताल पुगेकी थिइन्।

प्रारम्भिक जाँचपछि उनलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको अस्पतालको विवरणमा उल्लेख छ।

अस्पतालका अनुसार आवश्यक जाँचसम्बन्धी पुरानो रिपोर्ट नभएकाले स्वास्थ्यकर्मीले केही अति आवश्यक परीक्षण गर्न सुझाव दिएका थिए। त्यसपछि बिरामी र कुरुवा शय्यामा नरही अस्पतालबाट बाहिरिएको र बिहान ४ः४५ बजे अस्पतालको मूल गेटबाहिरै प्रसूति भएको अस्पतालको दाबी छ।

प्रसूति भएपछि आमा र नवजात शिशुलाई सालनालसहित पुनः प्रसूति वार्डमा ल्याइएको थियो। ड्युटीमा रहेका स्वास्थ्यकर्मीले नाल काटेर आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै बस्न आग्रह गरे पनि उनीहरू अस्पतालबाट बाहिरिएको अस्पतालले जनाएको छ।

छानबिनपछि दोषीमाथि कारबाही हुने

मन्त्री मेहताले मातृ तथा नवजात शिशुको जीवन रक्षा र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको बताइन्।

उनले छानबिनबाट दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि कानुनबमोजिम कारबाही हुने प्रतिबद्धता जनाइन्।

यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन मन्त्रालयले अस्पताललाई कडा रूपमा सचेत गराएको र अस्पताल प्रशासनले पनि गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएको मन्त्री मेहताले बताइन्।

घटनाबारे अस्पतालको प्रारम्भिक दाबी र स्थलगत छानबिनबाट प्राप्त हुने तथ्यका आधारमा जिम्मेवारी तथा कमजोरीबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया