बाढीको प्राविधिक प्रतिवेदन सार्वजनिक, तिब्बततर्फ थुनिएको नदीको ताल फुटेको निष्कर्ष

काठमाडौं, तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा विनाशकारी बाढी आएको प्राविधिक प्रतिवेदनले देखाएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार आएको बाढीबारे सार्वजनिक गरेको प्रतिवेदनमा बाढीको बहाव केही घण्टामै तल्लो तटीय क्षेत्रमा फैलिएको उल्लेख छ।

प्रतिवेदनअनुसार बिहान ९ बजे भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएको थियो। त्यसपछि बिहान ९ः१५ बजेदेखि त्रिशूली तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउँदै पहिलो चरणको पूर्वसूचना प्रवाह गरिएको थियो। त्यस क्रममा ६ लाख ७९ हजार एसएमएस पठाइएको महाशाखाले जनाएको छ।

बाढीको बहाव तीव्र रूपमा तलतर्फ बढ्दै बिहान १०ः२८ बजे धादिङको गल्छी आसपास पुगेको थियो। ११ः५० बजे मलेखु बजार आसपास पुगेको बाढी दिउँसो १ बजे मुग्लिन पार गर्दै ३ः२० बजे नारायणी नदीको देवघाट क्षेत्रमा पुगेको थियो।

बाढीको तीव्रताका कारण चार वटा स्वचालित जलमापन केन्द्रसमेत ध्वस्त भएका छन्। रसुवाको भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखु (फुर्के) जलमापन केन्द्र बाढीले पुलसहित बगाएको प्रतिवेदनमा उल्लेख छ।

जलमापन केन्द्रहरू बगेपछि ती क्षेत्रको प्रत्यक्ष जलसतहसम्बन्धी तथ्यांक प्राप्त हुन नसकेको महाशाखाले जनाएको छ। धादिङको फुर्के केन्द्रमा जलसतहले बिहान ११ः४३ बजे खतरा तह पार गरेपछि केही समयमै केन्द्र बाढीले बगाएको थियो।

कालीखोला जलमापन केन्द्रमा दिउँसो २ः१४ बजे जलसतह खतरा तह १२.१ मिटर पार गर्दै १२.३ मिटर पुगेको थियो। देवघाटमा भने साँझ ४ बजे जलसतह ६.५७ मिटरको उच्चतम बिन्दुमा पुगेपछि घट्न थालेको थियो।

प्राविधिक आँकलनअनुसार बाढीको अवधिमा देवघाटबाट मात्रै करिब २ करोड घनमिटर अतिरिक्त पानी बगेको थियो। साँझ ६ः३० बजेसम्म देवघाटमा जलसतह करिब ४ मिटरमा झरेको प्रतिवेदनमा उल्लेख छ।

महाशाखाले बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रसुवागढी नाकादेखि नेपाल–भारत सीमासम्मको क्षेत्रलाई अति उच्च, उच्च र मध्यम जोखिम क्षेत्रमा वर्गीकरण गरेको छ। प्रतिवेदनले बाढीको पूर्वसूचना र जोखिम क्षेत्रमा तत्काल सूचना प्रवाहको महत्वसमेत देखाएको छ।

प्रतिक्रिया