दुई महिना होल्डिङ सेन्टरमा, समाधान शून्य : सुकुम्बासी भन्छन्– ‘अब फर्किने बेला आयो’

   काठमाडौं । थापाथली र सिनामंगल क्षेत्रबाट हटाइएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरू दुई महिनादेखि स्थायी पुनःस्थापनाको प्रतीक्षामा छन्। तर सरकारले पटक–पटक आश्वासन दिए पनि बसोबासको कुनै ठोस विकल्प नदिएपछि उनीहरू निराश र आक्रोशित बनेका छन्।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएपछि सुकुम्बासीहरूले विज्ञप्ति जारी गर्दै तत्काल स्थायी व्यवस्थापनको माग गरेका छन्। उनीहरूले सरकारले आफूहरूलाई अन्योलमा राख्दै आएको आरोप लगाएका छन्।

सुकुम्बासीहरूका अनुसार उनीहरूलाई सुरुमा १५ दिनका लागि अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो। त्यसक्रममा ६० दिनभित्र स्थायी समाधान गरिने आश्वासन पनि दिइएको थियो। तर अहिले दुई महिना पूरा हुँदासमेत पुनःस्थापनाको कुनै स्पष्ट योजना सार्वजनिक भएको छैन।

“हामीले सरकारले दिएको आश्वासनमाथि विश्वास गरेर दुःखकष्ट सहेर बस्यौं, तर आजसम्म कहाँ, कहिले र कसरी व्यवस्थापन गरिने हो भन्नेबारे कुनै जानकारी छैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

सुकुम्बासीहरूले ‘स्वःव्यवस्थापन’को नाममा २५ हजार रुपैयाँ दिने प्रस्तावलाई पनि दीर्घकालीन समाधानको विकल्प नभएको बताएका छन्। उनीहरूको भनाइमा रकम दिएर समस्या समाधान हुँदैन, राज्यले नागरिकको आवासको अधिकार सुनिश्चित गर्नुपर्छ।

विज्ञप्तिमार्फत उनीहरूले सरकारलाई स्पष्ट सन्देश दिएका छन्— यदि बसोबासको स्थायी विकल्प नदिई होल्डिङ सेन्टरबाट हटाउने प्रयास गरियो भने आफूहरू पहिले बसोबास गरिरहेको स्थानमै फर्कन बाध्य हुनेछन्। उनीहरूले भनेका छन्, “हामीलाई जाने ठाउँ देखाइयो भने जान तयार छौं। तर बस्ने ठाउँ नै नदिई बाहिर निकाल्ने प्रयास गरिए पुरानै ठाउँमा फर्केर छाप्रो हाल्नुको विकल्प रहने छैन।”

सुरुवाती चरणमा उपलब्ध गराइँदै आएको खाना र खाजासमेत बन्द भएपछि हाल होल्डिङ सेन्टरमा रहेका परिवारहरू आफैंले रकम संकलन गरेर दैनिक जीवन चलाइरहेका छन्। यसले उनीहरूको आर्थिक र सामाजिक अवस्था झन् कठिन बन्दै गएको छ।

दुई महिनादेखि अस्थायी आश्रयमा बसिरहेका सुकुम्बासीहरूको मुख्य प्रश्न अहिले पनि उस्तै छ— “हामी जाने कहाँ?” सरकारबाट त्यसको स्पष्ट जवाफ नआउँदा उनीहरू फेरि पुरानै ठाउँ फर्किने मनस्थितिमा पुगेका छन्।

प्रतिक्रिया