पुरानो सडक पन्छाउन महिनौँ लाग्ने, बेत्रावतीसम्म नयाँ ट्रयाक खोलिँदै

काठमाडौं, भदौ २१ । भोटेकोशी बाढीले थुपारेको लेदो र गेग्रानका कारण पुरानै सडकबाट तत्काल यातायात सञ्चालन गर्न कठिन भएपछि सडक विभागले वैकल्पिक ट्रयाक खोलेर नुवाकोटको बेत्रावतीसम्म सडक सम्पर्क जोड्ने तयारी गरेको छ। तर वैकल्पिक सडकका लागि खेतको बाटो प्रयोग गर्न खोज्दा स्थानीयले मुआब्जाको माग राखेपछि काममा केही ढिलाइ भएको छ।

सडक विभागका अनुसार बाढीपछि पुरानो सडकमा तीनदेखि चार मिटरसम्म लेदो र गेग्रान थुप्रिएको छ। यति ठूलो परिमाणमा थुप्रिएको माटो र गेग्रान हटाएर सडकलाई पुरानै अवस्थामा ल्याउन लामो समय लाग्ने भएकाले तत्काल यातायात सञ्चालनका लागि वैकल्पिक मार्ग निर्माण गर्न लागिएको हो।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार वैकल्पिक रूपमा खेतको केही भाग प्रयोग गरेर ट्रयाक खोल्ने योजना बनाइएको थियो। तर विदुर नगरपालिका–१० का स्थानीयले जग्गाको मुआब्जा नदिएसम्म काम अघि बढाउन नदिने अडान लिएपछि ट्रयाक निर्माण प्रभावित भएको छ।

‘पुरानो सडकमा ३ देखि ४ मिटरसम्म लेदो र गेग्रान भरिएको छ, जसलाई पन्छाउन महिनौँ लाग्न सक्छ,’ न्यौपानेले भने, ‘त्यसैले हामीले वैकल्पिक रूपमा खेतको केही बाटो प्रयोग गरेर तत्काल ट्रयाक खोल्न खोजेका थियौँ। तर स्थानीयले मुआब्जा नपाएसम्म काम गर्न नदिने अडान राख्नुभएको छ।’

विभागले स्थानीयसँगको समस्या समाधान गरेर वैकल्पिक ट्रयाक निर्माण अघि बढाउने प्रयास गरिरहेको जनाएको छ। अवरोध हटे दुई दिनभित्रै बेत्रावतीसम्म सडक जोड्ने विभागको योजना छ।

बेत्रावतीसम्म अस्थायी सडक सञ्चालनमा आएपछि त्यसपछिको सडकमार्फत धुन्चेसम्मको पहुँच सहज हुने अपेक्षा गरिएको छ। यसले बाढीका कारण टुटेको रसुवातर्फको सडक सम्पर्क पुनःस्थापनामा समेत सहयोग पुग्ने विभागको भनाइ छ।

बाढीले पुरानो सडक संरचनामै ठूलो क्षति पुर्‍याएका कारण तत्कालीन समाधानका रूपमा नयाँ ट्रयाक खोल्ने र विभिन्न स्थानमा बेलिब्रिज जडान गर्ने कामलाई सँगसँगै अघि बढाइएको छ। तर सडक निर्माणका लागि वैकल्पिक जमिन प्रयोग गर्नुपर्ने अवस्था र त्यससँग जोडिएको मुआब्जा विवादले पुनःस्थापनाको काममा नयाँ चुनौती थपेको छ।

यसअघि सडक विभागले धादिङ, नुवाकोट र रसुवामा करिब ५५ किलोमिटर सडक तथा ३५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक अनुमान गरेको छ। यस्तो अवस्थामा स्थायी पुनर्निर्माण पूरा हुन समय लाग्ने भएकाले तत्कालका लागि वैकल्पिक सडक र अस्थायी पुलमार्फत यातायात सम्पर्क पुनःस्थापित गर्ने प्रयास भइरहेको छ।

प्रतिक्रिया