जेनजेनजी आन्दोलनपछि फरार रहेका कर्मा तामाङ अन्ततः प्रहरीको फन्दामा
१७ साउन २०८३, आईतबार प्रकाशित
काठमाडौं । जेनजी आन्दोलनका क्रममा फरार भएका कर्मा तामाङलाई प्रहरीले अन्ततः पक्राउ गरेको छ। आइतबार बिहान काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङलाई आइतबार बिहान करिब २ बजेतिर पक्राउ गरिएको हो। उनी चोरी तथा लुटपाटका विभिन्न घटनामा संलग्न रहेको आरोपमा लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा तामाङले प्रतिरोध गरेपछि बल प्रयोग गर्नुपरेको र त्यसक्रममा गोली चलाइएको हो। गोली लागेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
तामाङ यसअघि चोरीसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका थिए। तर, जेनजी आन्दोलनका क्रममा उनी फरार भएका थिए। त्यसयता प्रहरीले उनको खोजी जारी राखेको थियो।
फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।