शव सडकमै, शहर तनावमा: सिरहामा गोलीकाण्डपछि आक्रोशको विस्फोट

सिरहा। प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सिरहाको अवस्था थप तनावग्रस्त बनेको छ। मृतकको शव सडकमै राखेर स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् भने प्रदर्शन उग्र बन्दा गोलबजारस्थित एबी मलमा आगजनी गरिएको छ। बढ्दो तनावलाई मध्यनजर गर्दै प्रशासनले जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला प्रशासनका अनुसार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर औरही गाउँपालिका–२ तुलसीपुरका २० वर्षीय गणेश यादवको मृत्यु भएको हो। घटनामा घाइते भएका सुभाष ठाकुरको घाँटीमा गोली लागेको छ। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

गणेश यादवको मृत्युको खबर फैलिएसँगै स्थानीयको आक्रोश सडकमा पोखिएको छ। मृतकका आफन्त र स्थानीयले शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन्। न्यायको माग गर्दै नाराबाजी भइरहेको छ भने गोलबजार बजार क्षेत्र पूर्ण रूपमा तनावग्रस्त बनेको छ।

यसैबीच प्रदर्शन उग्र बनेपछि गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरिएको छ। भवनबाट बाक्लो धुवाँ निस्किएको र आगोले भवनको ठूलो भागमा क्षति पुर्‍याएको देखिएको छ। क्षतिको यकिन विवरण भने सार्वजनिक गरिएको छैन।

बिहीबार बिहानदेखि अवस्था झन् जटिल बनेपछि प्रशासनले जिल्लाका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायलाई उच्च सतर्कतामा राख्दै थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रहरीले गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचानबारे अनुसन्धान भइरहेको जनाएको छ। यता स्थानीयले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन्।

प्रतिक्रिया