बढ्दो तनावबीच प्रधानमन्त्रीको राष्ट्र सम्बोधन, शान्तिको सन्देश र सरकारी धारणा आउने अपेक्षा

काठमाडौं। सुनसरी र सिरहामा पछिल्ला दिनमा भएका हिंसात्मक घटनाले देशभर सुरक्षा र सामाजिक सद्भावप्रति चिन्ता बढिरहेका बेला प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको छ।

पछिल्ला केही दिनयता सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक तनाव र सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि देशका विभिन्न स्थानमा चासो बढेको छ। यही विकसित परिस्थितिमा प्रधानमन्त्रीले सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन्।

स्रोतका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरिनेछ। साथै हिंसात्मक घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र प्रभावित क्षेत्रमा सरकारले चालेका सुरक्षा तथा राहतका कदमबारे पनि जानकारी दिने तयारी छ।

सुनसरीको देवानगञ्जमा भएको झडपपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन् भने घटनाको छानबिन प्रक्रिया पनि अघि बढाइएको छ।

उता सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर औरही गाउँपालिका–२ का २० वर्षीय गणेश यादवको मृत्यु भएको थियो। घटनामा सुभाष ठाकुर घाइते भएका छन् र उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। त्यसपछि स्थानीयले मृतकको शव सडकमै राखेर विरोध प्रदर्शन गरेका छन् भने प्रदर्शन उग्र बन्दा गोलबजारस्थित एबी मलमा आगजनीसमेत भएको छ। स्थिति नियन्त्रणमा लिन प्रशासनले विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरी थप सुरक्षा बल परिचालन गरेको छ।

लगातार दुई जिल्लामा भएका घटनाले राष्ट्रिय सुरक्षा र सामाजिक सद्भावमाथि चुनौती थपिएको अवस्थामा प्रधानमन्त्रीको राष्ट्र सम्बोधनलाई सरकारको आगामी रणनीति, शान्ति स्थापनाको योजना तथा नागरिकलाई दिने सन्देशका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्रीको सम्बोधनको समय भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया