सुरुङमार्ग खुल्यो, अब सुविधा अनुसार शुल्क : नागढुङ्गा टनेलको टोलदर सार्वजनिक


काठमाडौं । करिब सात वर्षको निर्माणपछि सञ्चालनमा आएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले अब सुविधा अनुसार टोल शुल्क तिर्नुपर्ने भएको छ। सरकारले सुरुङमार्गबाट हुने समय, इन्धन र सञ्चालन खर्चको बचतलाई आधार बनाएर सडक उपभोग दस्तुर (टोल) निर्धारण गरेको हो।

आयोजनाका अनुसार काठमाडौं प्रवेश गर्ने सवारीका लागि धादिङतर्फ जानेभन्दा केही बढी शुल्क तोकिएको छ। यसको कारण काठमाडौंतर्फ यात्रा गर्दा हुने समय र इन्धन बचत तुलनात्मक रूपमा बढी हुने अनुमान गरिएको छ।

हलुका सवारी (कार, जिप, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस) ले काठमाडौं आउँदा ६५ रुपैयाँ र धादिङ जाँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

मिनीबस तथा मिनी ट्रकका लागि काठमाडौंतर्फ ११५ रुपैयाँ र धादिङतर्फ ८० रुपैयाँ शुल्क तोकिएको छ।

त्यस्तै बस तथा सिङ्गल रियर एक्सल ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र धादिङतर्फ जाँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।

मल्टी एक्सल ट्रक, हेभी उपकरण तथा अन्य ठूला सवारीका लागि भने सबैभन्दा बढी शुल्क कायम गरिएको छ। यस्ता सवारीले काठमाडौं आउँदा ६०० रुपैयाँ र धादिङतर्फ जाँदा २५० रुपैयाँ तिर्नुपर्नेछ।

आयोजनाका अनुसार टोल दर निर्धारण गर्दा सुरुङमार्ग प्रयोगबाट हुने यात्रा समय, इन्धन खपत र सवारी सञ्चालन खर्चमा हुने बचतको विश्लेषण गरिएको थियो। सोही आधारमा काठमाडौंतर्फ अनुमानित बचतको करिब ३० प्रतिशत र धादिङतर्फ करिब ३६ प्रतिशत बराबर पर्ने गरी शुल्क निर्धारण गरिएको जनाएको छ।

नागढुङ्गा सुरुङमार्ग सञ्चालनसँगै राजधानी प्रवेश गर्ने मुख्य नाकामा हुने लामो जाम, उकालो सडकको जोखिम र यात्रा समय उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। अब यात्रुले ती सुविधा उपयोग गरेबापत निर्धारण गरिएको टोल शुल्क भने अनिवार्य रूपमा तिर्नुपर्नेछ।

प्रतिक्रिया