सुनसरी घटनाले हल्लियो सुरक्षा संयन्त्र : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी फेरियो, कर्फ्यु राजमार्गसम्म विस्तार

सुनसरी । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सरकारले सुरक्षा संयन्त्रमा ठूलो हस्तक्षेप गर्दै प्रमुख जिल्ला अधिकारीदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतसम्मको जिम्मेवारी हेरफेर गरेको छ। घटनापछि चर्किएको आन्दोलन पूर्व–पश्चिम राजमार्गसम्म फैलिन थालेपछि प्रशासनले कर्फ्युको दायरा पनि विस्तार गरेको छ।

गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई गृह मन्त्रालय फिर्ता बोलाएको छ। उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ।

त्यसैगरी, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने उनको स्थानमा डीआईजी शेखर खनाललाई पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेवेको पनि सरुवा गरिएको छ। सशस्त्र प्रहरीतर्फ एसपी श्यामकुमार कार्की र डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाउँदै नयाँ कमाण्ड खटाइएको छ।

सरकारको यो निर्णय आइतबार राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप र त्यसक्रममा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएपछि आएको हो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन्।

घटनापछि स्थानीयवासीको आन्दोलन चर्किँदै गएर पूर्व–पश्चिम राजमार्गसम्म पुगेपछि प्रदर्शनकारीले लौकही–भोक्राहा र इनरुवा क्षेत्रमा सडक अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन गरेका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगरका संवेदनशील क्षेत्रसँगै महेन्द्र राजमार्गको इनरुवा–कोशी ब्यारेज खण्डमा समेत अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।

यसबीच गृह मन्त्रालयले घटनाको छानबिनका लागि सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई एक साताभित्र घटनाको कारण, सुरक्षा व्यवस्थापन र प्रहरीको भूमिकासहितको प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

सुरक्षा नेतृत्वमा एकैपटक गरिएको व्यापक हेरफेर, छानबिन समिति गठन र कर्फ्यु विस्तारले सरकारले सुनसरी घटनालाई सामान्य सुरक्षा चुनौतीका रूपमा नभई गम्भीर प्रशासनिक र कानुनी विषयका रूपमा लिएको संकेत दिएको छ।

प्रतिक्रिया